वि.सं.२०८३ साउन १९ मंगलवार

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई राजीनामा दिन नेकपा र एमालेको दबाब, के पाए जवाफ ?

khanepani

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्गप्रशस्त गर्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दबाब बढाएका छन्।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दुवै दलका सांसदहरूले संयुक्त रूपमा भेटेर वर्तमान अवस्थामा नयाँ समीकरणअनुसार नयाँ सरकार गठन गर्ने वातावरण सिर्जना गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए।

गत साउन ३१ गते एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् । यसबीच एमाले र नेकपाबीच तीनबुँदे सहमति भएपछि सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको छ। तर मुख्यमन्त्रिले राजीनामा नदिएपछि सरकार गठनका सबै प्रक्रिया अवरुद्ध भएका छन्।

नयाँ समीकरण अनुसार नयाँ सरकार गठन गर्ने वातावरण बनाउन आज नेकपा संसदीय दलका नेतासहितका सांसदहरूले मुख्यमन्त्रीलाई सामूहिक रूपमा भेटेका हुन्।

सबै भन्दा पहिले नेकपा उपनेता प्रकाश रावलले एमालेसँग मिलेर सरकार बनाउने सबै विषय टुंगोमा पुगिसकेको भन्दै मार्गप्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए।

‘हाम्रोबीच कुनै खटपट छैन। नयाँ गठबन्धन राम्रोसँग अघि बढिरहेको छ। त्यसैले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ, ’ उनले भने।

अक्कल रावलले पनि नयाँ समीकरण अनुसार सरकार गठनको तयारी भइरहेको भन्दै मुख्यमन्त्रीलाई बाधक नबन्न सुझाव दिएका थिए।

‘अल्पमतमा परिसक्दा पनि पदमा टाँसिरहनु राम्रो हुँदैन। राजनीतिक ढंगले निर्णय दिनुहोस्, ’ उनले भने ‘कर्मचारीले तलब पाएका छैनन्, बजेट शून्यता छ। बहुमत गुमिसकेपछि पनि सत्ता लम्ब्याउनु राम्रो हुँदैन। ’

प्रदेशसभा निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको स्मरण गराउँदै उनले अहिले एमालेसँग सहकार्य भइरहेको बताए।

नेकपाका प्रमुख सचेतक खुशीराम चौधरीले मुख्यमन्त्रीले राजनीतिक नैतिकता देखाउँदै राजीनामा दिनुपर्ने सुझाव दिएका थिए।

नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले पनि नेकपाका सांसदहरूले उठाएका विषयसँग सहमति जनाउँदै मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिइन्।

अन्य सांसदहरूले बोल्दा सुनिरहेका मुख्यमन्त्री शाहले एमाले उपनेतालाई भने प्रतिप्रश्न गरेका थिए।

‘दलका नेता राजेन्द्र रावल किन आउनु भएन? यो प्रस्ताव तपाईंको हो कि तपाईंहरूको संसदीय दलको? ’ मुख्यमन्त्री शाहले सोधे।

उपनेता थापाले पार्टीले निर्णय सार्थक बनाउनु आफूहरूको पनि दायित्व रहेको बताउँदै आफ्नो धारणा व्यक्तिगत नभई पार्टीको नीति अनुसार रहेको स्पष्ट पारेकी थिइन्।

नेकपा संसदीय दलका नेता खगराज भट्टले सबै विषय समेट्दै अहिलेको आवश्यकता मुख्यमन्त्रीको राजीनामा नै भएको औँल्याएका थिए।

‘निर्वाचन लड्दा तपाईंको मुख्यमन्त्रीमा चर्चा नै थिएन। लामो समय प्रदेशको नेतृत्व गर्नु भयो। मलाई त दुई पूर्वप्रधानमन्त्रीले संयुक्तरूपमा मुख्यमन्त्री बनाउछु भन्नू भएको थियो ’ भट्टले विगत स्मरण गराए।

एउटै कार्यकालमा एउटै प्रदेशले तीन–चार जना मुख्यमन्त्री पाउनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले राजनीतिक स्थायित्वको आवश्यकता औँल्याए।

‘यस्तो बेला बहुमत गुमिसकेपछि पनि त्यहाँ बसिरहनु राम्रो होइन। राजनीतिक नैतिकता देखाउनुस्, उनले भनेका थिए ।

सबै सांसदहरूको कुरा सुनिसकेपछि मुख्यमन्त्री शाहले आफ्नो धारणा राखेका थिए।

तत्काल विश्वासको मत लिने वा राजीनामा दिने दुवै विषयमा उनले स्पष्ट धारणा भने सार्वजनिक गरेनन्।

‘ आफ्नो समीकरणमाबारे अझै उहाँमा विश्वास देखियो, ’ छलफलमा सहभागी एक सांसदले भने ‘हामीले राजीनामा दिन आग्रह गरेका थियौं। उहाँले अहिले राजीनामा दिने पक्षमा नरहेको संकेत दिनु भयो। ’

कांग्रेस सभापति गगन थापासँगको संवादमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट पास गराउने आश्वासन दिएको बताउँदै मुख्यमन्त्री शाहले अन्तिम समयमा प्रचण्डले पनि धोका दिएको बताएका थिए।

त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी र सुदूरपश्चिम प्रदेशमा बजेट फेल गराउने रणनीति बनाएको, तर कोशीमा सफल हुन नसकेपछि सुदूरपश्चिमतर्फ केन्द्रित भएको आरोप पनि मुख्यमन्त्रीले लगाएका थिए।

‘कोशी प्रदेशमा बजेट फेल गर्ने उहाँको रणनीति थियो। त्यहाँ त्यो हुन सकेन। त्यसपछि सुदूरपश्चिम प्रदेशमा बजेट फेल गर्न लाग्नुभयो, ’ उनले भने।

करिब ३० मिनेटको संवादमा सांसदहरूले मुख्यमन्त्रीलाई राजीनामा दिन आग्रह गरिएको भए पनि उनले अझै केही दिन पदमै रहने संकेत दिएको नेकपा सांसद अक्कल रावलले बताए।

‘हामीले उहाँलाई सहज निकास निकाल्न आग्रह गरेका थियौं। तर सत्ताको खेल उहाँले अझै जारी राख्ने संकेत दिनुभयो ’ उनले भने, ‘उहाँ अहिले पनि आफ्नो सत्ता जोगाउने प्रयासमै लागिरहनु भएको देखियो। ’

एमाले र नेकपाका सांसदहरूसँगको छलफलमा मुख्यमन्त्री शाहले सरकार टिकिरहने आधारहरू अझै जीवित रहेको दाबी गरेको रावलले बताए ।

‘शेरबहादुर देउवा पनि आउँदै हुनुहुन्छ। भोलि म काठमाडौं जान्छु भन्नु भयो। नयाँ खालको तयारी भइरहेको भन्दै तत्काल राजीनामा दिन आवश्यक नरहेको उहाँको संकेत थियो ,’ अर्का एक सांसदले भने।

ranechhap