वि.सं.२०८३ असोज ७ बुधवार

बाढीपीडितका लागि जापानले आईओएमलाई दियो १० लाख डलर

khanepani

काठमाडौँ । सन् २०२६ अगस्टमा मध्य नेपालका रसुवा, नुवाकोट र धादिङ जिल्लामा गएको बाढी तथा पहिरोपीडितको सहयोगका लागि जापान सरकारले १० लाख अमेरिकी डलर आपतकालीन अनुदान उपलब्ध गराएको छ।

नेपाल सरकारको नेतृत्वमा सञ्चालित मानवीय सहायता कार्यलाई थप सुदृढ बनाउन अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) मार्फत उक्त रकम प्रदान गरिएको हो।

यो सहयोगले सरकारी निकाय तथा मानवीय साझेदारहरूसँगको समन्वयमा प्राथमिकतामा परेका स्थानका अति विपन्न बाढीप्रभावित परिवारलाई आपतकालीन आश्रय र अत्यावश्यकीय घरायसी सामग्री उपलब्ध गराउन मद्दत पुग्नेछ।

नेपालका लागि जापानी राजदूत माएदा तोरुले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई आपतकालीन सहायता प्रदान गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले भने, ‘यस सहयोगमार्फत प्रभावित परिवारलाई आवश्यक आश्रय र गैरखाद्य सामग्री प्रदान गरी उनीहरूको जीवन सामान्य बनाउने प्रयासमा मद्दत पुग्ने विश्वास लिएको छु।’

आईओएमले आफ्ना टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरी वास्तविक आवश्यकताको पहिचान गरिरहेको जनाएको छ। राहत सामग्री वितरण कार्य स्थानीय निकाय, नागरिक समाज र सरोकारवालाहरूसँगको समन्वयमा पारदर्शी रूपमा गरिने बताइएको छ।

यसैगरी, आई ओएम नेपालकी प्रमुख हेलिन फोर्सले विपद्का कारण घरबार र आफन्त गुमाएका नेपालीका लागि यो सहयोग निकै महत्त्वपूर्ण रहेको बताएकी छन्। उनले भनिन्, ‘जापान सरकारको यो उदार सहयोगले प्रभावित परिवारलाई नयाँ जीवन सुरु गर्न र नेपाल सरकारको राहत प्रयासलाई सघाउन ठूलो भूमिका खेल्नेछ।’

आई ओएमले राहत वितरण प्रक्रियामा प्रभावित समुदायको गुनासो र सुझाव सुन्ने संयन्त्रलाई समेत प्रभावकारी बनाउने स्पष्ट पारेको छ।

त्यसैगरी, जापान सरकारले विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत १० लाख अमेरिकी डलर आपतकालीन अनुदान उपलब्ध गराएको छ। डब्ल्यूएफपीका नेपाल प्रतिनिधि रियाज लोधीले जापान सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दै भने, ‘यो उदार सहयोगले जीवनरक्षक सहायता साँच्चै आवश्यकता भएका परिवारसम्म पुर्‍याउन मद्दत पुगेको छ।’

ranechhap