काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले सल्यानको दार्मामा फैलियो स्क्रब टाइफस संक्रमणप्रति सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाकाे बुधबारकाे बैठककाे आकस्मिक समयमा बोल्दै उनले सल्यानको दार्मा गाउँपालिकामा पछिल्लो एक महिनामै स्क्रब टाइफस सङ्क्रमणका कारण अस्पतालमा उपचाररत ७ जनाको निधन भइसकेको बताए । सङ्क्रमणको दर तीव्र रूपमा बढे पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम अभाव देखिएको बताए ।
यस विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्क्रब टाइफस लगायतका सम्भावित सङ्क्रामक रोगहरूको समयमै पहिचान र उपचारका लागि देशभरका जोखिमयुक्त क्षेत्रहरूमा द्रुत परीक्षण किट वितरण तथा आवश्यक प्रबन्ध मिलाइरहेको जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार विगतका वर्षहरू झैँ यस वर्ष पनि मनसुन तथा सङ्क्रमणको सम्भावित जोखिम सुरु हुनुअघि नै स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण दिने, औषधि तथा परीक्षण किटको जोहो गर्ने र स्थानीय तहसम्मै आकस्मिक बजेटको व्यवस्थापन गर्ने काम भइसकेको छ ।
डा.अधिकारीले उक्त घटनाको विस्तृत अध्ययन र पुष्टि हुन बाँकी रहेको बताए । मनसुनको समयमा ज्वरो आउने अन्य कारणहरू पनि हुन सक्ने उल्लेख गर्दै उनले बिरामीले समयमै पहिचान र उपचार पाएमा स्क्रब टाइफसका कारण ज्यान जाने जोखिम कम हुने बताए । ज्वरो आउने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा गएर परीक्षण गराएमा यो रोग सजिलै रोकथाम र निको पार्न सकिने उनको भनाइ छ ।
प्रभावित क्षेत्रमा सङ्क्रमण थप फैलिन नदिन स्वास्थ्य मन्त्रालयले सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरूसँग निरन्तर समन्वय गरिरहेको छ ।
कुनै पनि स्थानमा अप्रत्याशित रूपमा ज्वरोका बिरामी बढेमा वा शङ्कास्पद घटना देखिएमा तुरुन्त खटिने गरी ‘द्रुत प्रतिकार्य टोली’ लाई उच्च सतर्कतामा राखिएको र स्थितिमाथि नजिकबाट निगरानी भइरहेको जानकारी दिए ।







































