वि.सं.२०८३ असोज ७ बुधवार

चिनियाँ राष्ट्रपति सी आज वासिङ्टन पुग्दै, समकक्षी ट्रम्पले यसरी गर्नेछन् स्वागत

khanepani

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार अमेरिकी राजधानी वासिङ्टन पुग्ने भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयं एन्ड्र्युज एयर फोर्स बेसमा सीको स्वागतका लागि उपस्थित हुन सक्ने बताइएको छ ।

त्यसपछि बिहीबार ह्वाइट हाउसमा सीको सम्मानमा औपचारिक स्वागत समारोह आयोजना हुनेछ । समारोहमा सैन्य विमानबाट ‘फ्लाइओभर’ गरिनेछ भने करिब ५०० सैन्यकर्मी सहभागी हुनेछन्।

सीको अमेरिका भ्रमण शुक्रबार समाप्त हुनेछ । भ्रमणका क्रममा औपचारिक कार्यक्रमसँगै भव्य रात्रिभोज, निजी भेटघाट तथा अन्य कार्यक्रमसमेत आयोजना हुनेछन् ।

अमेरिका र चीनबीच भएको व्यापार सम्झौताका कारण पनि सीको यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ ।

सन् २०२५ को अक्टोबरमा दक्षिण कोरियामा ट्रम्प र सीबीच भएको भेटका क्रममा व्यापारसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौताको अवधि नोभेम्बरमा सकिँदैछ ।

सम्झौता अन्तर्गत अमेरिकाले चिनियाँ सामानमा प्रस्ताव गरेको ठूलो महसुल वृद्धि तत्काल लागू नगर्ने निर्णय गरेको थियो । त्यसको बदलामा चीनले दुर्लभ खनिजको निर्यातमा लगाएका केही प्रतिबन्ध खुकुलो बनाएको थियो ।

सीको यो भ्रमण करिब एक दशकपछि पहिलो अमेरिका भ्रमण हो । साथै, ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेपछि सी र ट्रम्पबीच यो तेस्रो भेटवार्ता हुनेछ ।

ranechhap