धादिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूबीचको गठबन्धन अभ्यासले संविधानले सुनिश्चित गरेको महिला प्रतिनिधित्वलाई व्यवहारमै कमजोर बनाइरहेको बताएकी छन् । गठबन्धन केन्द्रित राजनीतिका कारण महिलाहरू उम्मेदवार बन्ने अवसरबाट क्रमशः बाहिरिँदै जानु लोकतान्त्रिक अभ्यासका लागि चिन्ताजनक रहेको उनको भनाइ छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै भण्डारीले संविधानमा एक तिहाइ महिला सहभागिताको स्पष्ट व्यवस्था हुँदाहुँदै पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गरिन् ।
‘संविधान बन्यो, कानुन बन्यो, तर महिलाको सहभागिता व्यवहारमा आउन अझै सकिरहेको छैन । गठबन्धनको भागबण्डाले महिलालाई राजनीतिक प्रतिस्पर्धाबाट पछाडि धकेलिरहेको छ ।’
संघीय संसददेखि स्थानीय तहसम्म महिलाको उपस्थिति घट्दै जानु राजनीतिक दलहरूको प्राथमिकतामा महिलाको सवाल नपर्नुको परिणाम भएको उनको जिकिर छ । गठबन्धनको नाममा हुने सीट बाँडफाँटले महिलालाई निर्णय प्रक्रियाबाट टाढा राख्ने प्रवृत्ति बढाएको भन्दै यसले संविधानको मर्म र भावनालाई नै कमजोर बनाइरहेको भण्डारीले बताइन् ।
उनले भनिन्, ‘दलहरू जिम्मेवार नबनेसम्म महिला सशक्तीकरण कागजमै सीमित हुन्छ ।’
बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मात्र नभई स्वस्थ, अनुशासित र सक्षम पुस्ता निर्माणको राष्ट्रिय आधार भएको उल्लेख गर्दै यसको प्रवद्र्धनका लागि पालिकाले प्राथमिकताका साथ लगानी गरिरहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशसभा सदस्य मायादेवी शर्मालगायतको उपस्थिति रहेको थियो। पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालय सहभागी भएका छन् ।









































