काठमाडौं । हालैमात्र पत्रकारिता छोडेर रास्वपा प्रवेश गरेका चर्चित सञ्चारकर्मी राजीव खत्री आगामी आमनिर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौैं-१० बाट उम्मेदवारी दिने उनको तयारी छ ।
खत्रीले यसअघि काठमाडौं ४ मा कांग्रेसका गगन थापासँग भिडन्त गर्न चाहेको चर्चा थियो । तर, उनले हाल आफू बसोबास गरिरहेको काठमाडौं १० रोजेका छन् । खत्रीको चुनावी तयारी सुरु भइसकेको छ ।
आफूले काठमाडौं १० बाट उम्मेदवारीका लागि पार्टीमा औपचारिक दावेदारी प्रस्तुत गरिसकेको खत्रीले बताए । आफ्नो बसोबास र कार्यक्षेत्रसमेत रहेकाले यही क्षेत्रमा सहज हुने उनको आँकलन छ ।
खत्रीले भने, ‘मेरो पुरानो घर काठमाडौं ४ स्थित कपनमा थियो । त्यसैले त्यहाँ उम्मेदवारी दिने एउटा सम्भावना थियो । तर, अहिले म काठमाडौं १० मा बस्छु । सबैसँग सल्लाह गरेर यो क्षेत्र रोजेको हुँ।’
काठमाडौं १० मा यसअघि लगातार तीनवटा आमनिर्वाचनमा कांग्रेसका राजेन्द्र केसीले जितेका थिए । २०७० मा माओवादी अध्यक्ष प्रचण्डविरुद्ध सनसनी जित निकालेका केसीले २०७४ र २०७९ मा पनि चुनाव जिते । त्यसहिसाबले यो उनको किल्ला हो । तर, उनले यसपटक चुनावमा भाग नलिने घोषणा गरिसकेका छन् । युवालाई अवसर दिने भन्दै केसीले यस्तो निर्णय लिएका हुन् ।
२०७९ को आमनिर्वाचनमा केसी १४ हजार ४५८ मतका साथ विजयी बनेका थिए । एमाले उम्मेदवार हिमेश केसीले ११ हजार ७८० मत ल्याएर दोस्रो भए। रास्वपाका उम्मेदवार प्रदीप विष्टले ८ हजार ७ सय ३९ मत ल्याएर तेस्रो स्थानमा थिए ।
गत निर्वाचनमा हारेका हिमाल केसी यसपटक पनि एमालेबाट सिफारिस भएका छन् । जिल्लाले उनीसहित ११ जनाको नाम सिफारिस गरेको छ । पहिलो नम्बरमा भने केन्द्रीय कमिटी सदस्य विनोद श्रेष्ठ छन् ।
काठमाडौं १० मा त्यसबेला नै रास्वपाले समानुपातिक तर्फ कांग्रेसको हाराहारी भोट ल्याएको थियो । ११ हजार ६ सय १४ मतदाताले कांग्रेस रोज्दा ११ हजार ५७६ मतदाताको रोजाइमा परेको थियो रास्वपा । तेस्रोमा रहेको एमालेले १० हजार १८२ मत ल्याएको थियो ।
यस क्षेत्रमा राप्रपाको पनि उल्लेख्य मत छ । ७ हजार ३ सय ९१ मतदाताले समानुपातिकतर्फ हलोमा मत हालेका थिए ।









































