कपिलवस्तु । मानव अधिकार अभियन्ता राहुल केसीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु-३ उम्मेदवारी दिने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्धताको लागि छलफल जारी रहेपनि औपचारिक निर्णय भइनसकेको उनले बताए ।
राहुल सन् २०१२ देखि युथ फर हुमन राइट्स नेपालमार्फत मानव अधिकार शिक्षा र युवा परिचालनमा युवाको भूमिका, न्याय, उत्तरदायित्व र नागरिक सचेतनाका विषयमा आवाज उठाउँदै आएका छन् । २०१४ मा बेल्जियमको ब्रुसेल्समा उनी ‘हुमन राइट्स हिरो अवार्ड’ बाट पनि सम्मानित भइसकेका छन् ।
विश्वका ५० भन्दा बढी विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व, सुशासन र सामाजिक उत्तरदायित्वका विषयमा उनले आफ्ना अनुभव बाँड्दै आएका छन् । साथै, सन् २०१७ मा उनले १२० भन्दा बढी देशका युवालाई जोड्न अन्तर्राष्ट्रिय युवा सञ्जाल स्थापना गरेका थिए ।









































