वि.सं.२०८३ जेठ ११ सोमवार

सशस्त्र र नेपाल प्रहरीका दुई एआईजीसँग जाँचबुझ आयोगको सोधपुछ

khanepani

काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सशस्त्र र नेपाल प्रहरीका दुई जना एआईजीसँग सोधपुछ गरेको छ । सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेल र प्रहरीका एआईजी सिद्धिविक्रम शाहसँग आयोगले सोधपुछ गरेको हो ।

जेनजी प्रदर्शन हुँदा शाह प्रहरीको कार्य विभाग प्रमुख थिए । अहिले उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् । सशस्त्रका पौडेल अहिले कार्य विभागको नेतृत्वमा छन् । कार्य विभागले दैनिक अपरेसनको नेतृत्व गर्ने हुनाले एआईजी द्ववयलाई घटनाबारे सोधपुछ गरिएको जाँचबुझ आयोगका एक जना पदाधिकारीले बताए ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले मङ्सिर १० मा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापालाई बयान लिएको थियो । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पुरा गरेर थापा भदौ २८ मा सेवा निवृत्त भएका थिए । जेनजी प्रदर्शन हुँदा उनी गुप्तचर प्रमुख थिए । बयानपछि थापालाई विदेश भ्रमणमा जान र उपत्यका छाड्न रोक लगाउने निर्णय फुकुवा गरिएको छ ।

आयोगले यस अघि पूर्वमुख्यसचिव एकनारायण अर्यालसँग सोधपुछ गरेको थियो । आयोगले राष्ट्रिय अनुसन्धान विधागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ र नेपाल प्रहरीका एसपीद्ववय अपिल बोहरा र कुलदिप चन्दसँग बयान लिएको छ ।

ranechhap