काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टी अहिले इतिहासको अत्यन्तै निर्णायक मोडमा रहेको बताउँदै आगामी संसदीय चुनावमा अघि बढ्नु अघि पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएकी छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार धारणा राख्दै गौतमले भनिन्, ‘ पार्टीको महाधिवेशन सम्पन्न नगरी संसदीय चुनावमा जानु हुँदैन। मंसिरभित्रै महाधिवेशन सम्पन्न गरी जनआदेश लिऔं। त्यसपछि मात्र देशको जनादेशका लागि चुनावी मैदानमा जाऔं।’
गौतमले मंसिरभित्र महाधिवेशन सम्पन्न भए मात्र पार्टीले नयाँ नेतृत्वसहित जनविश्वास पुनः स्थापना गर्न सक्ने बताइन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पाएको जिम्मेवारी ‘महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नतर्फको अवसर’ का रूपमा उपयोग गर्न आग्रह गरिन् ।
केन्द्रीय सदस्य गौतमले भनिन्, ‘हामी नेपाली कांग्रेस अहिले इतिहासको अत्यन्तै गम्भीर र निर्णायक मोडमा उभिएका छौं। पार्टीले अब आत्ममूल्यांकन गर्न जरुरी छ।’
उनले जनजी आन्दोलनका क्रममा निजी तथा सरकारी सम्पत्तिहरूमा भएको क्षतिको निष्पक्ष छानबिन र दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिन् । पार्टी सभापति
सभापति शेरबहादुर देउवा र नेतृ अरजु राणा देउवामाथि भएको आक्रमण, साथै पार्टी कार्यालयमा भएका तोडफोड र आगजनीका घटनाको पार्टीले सार्वजनिक तथ्य विवरण जारी गर्नुपर्ने बताइन् ।
उनले विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षर संकलनपार्टीभित्रको असन्तुष्टि, नयाँ राजनीतिक दिशा खोज्ने चाहना र लोकतान्त्रिक अभ्यासप्रतिको आकांक्षाको अभिव्यक्ति भएको बताइन् ।
हालको राजनीतिक र संगठनात्मक अवस्थालाई पार्टीको आत्ममूल्यांकनको अवसरका रूपमा लिन आग्रह गर्दै गौतमले भनिन्, ‘प्रजातान्त्रिक छानबिन सत्ताको मार्ग निर्माण गर्ने होइन, सुशासनको चेत जगाउने अभियान हो। तर पार्टीमा सुशासन र आन्तरिक लोकतन्त्रका सवालमा असन्तुष्टि प्रकट भएको छ।’









































