काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवा बाढीको सन्दर्भमा चीनतर्फबाट हुनसक्ने सूचना आदानप्रदानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बोल्दै उनले सीमापारिबाट आउने पूर्वसूचना प्रणालीलाई चुस्त बनाउँदै थप बाढीको जोखिमबारे नागरिकलाई समयमै सुसूचित गराउन आग्रह गरे। कोशी बाँध, जुरे पहिरो र महाभूकम्पजस्ता विगतका संकटहरूमा जस्तै विपद्को यस घडीमा पनि सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै उनले खोज, उद्धार र मानवीय सहायतामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरू परिचालित भइसकेको जानकारी दिए।
यसैगरी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलगत पहिचानभन्दा माथि उठेर राहत, उद्धार र पुनर्निर्माणमा जुट्न आह्वान गरेका छन्। सरकारलाई काम गर्न सहज होस् भन्नका खातिर उनले राहतदेखि पुनर्स्थापनासम्मका लागि एक सर्वदलीय वा संसदीय समिति गठन गर्ने प्रस्ताव अघि सारे। साथै, विपद् व्यवस्थापनमा सरकारको कोषलाई एकद्वार प्रणालीका रूपमा उपयोग गर्दै सबै दल मिलेर सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।
उक्त बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र जसपा नेपालका नेता महन्थ ठाकुर सहभागी छन्। त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी तथा प्रवक्ता जगदिश खरेल लगायतका नेताहरूको पनि उपस्थिति रहेको छ।





































