काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दलगत पहिचान र राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन, राहत, उद्धार तथा पुनर्निर्माणमा एकजुट हुन सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन्। सिंहदरबारमा आफ्नै संयोजनमा बसेको सर्वदलीय बैठकको सुरुआत गर्दै सभापति लामिछानेले संकटको घडीमा साझा दायित्व निर्वाह गर्न र सामाजिक सञ्जालको सही तथा जिम्मेवार सदुपयोग गर्न सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्।
उक्त बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तथा संसदीय दलका नेता ज्ञानेन्द्र शाही र जसपा नेपालका नेता महन्थ ठाकुर सहभागी छन्।
त्यसैगरी बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी र प्रवक्ता जगदिश खरेल लगायतका नेताहरूको उपस्थिति रहेको छ।





































