काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विशेष महाधिवेशन माग गर्नेहरूको उद्देश्य पार्टी फुटाउने नरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै पुनले विशेष महाधिवेशनको माग गर्नेले पार्टी फुटाउने, अरूले जुटाउने भन्ने भाष्यलाई चिर्न पनि नेताहरूलाई आग्रह गरे ।
‘विशेष माग गरेकै आधारमा पार्टी फुट्ने र अरूले पार्टी जुटाउने हुँदैन । विधानको आ–आफ्नो व्याख्या गर्ने अधिकार छैन । विधानको व्यवस्था जे हो त्यही गरौँ,’ पुनले भने । पार्टीलाई एकताबद्ध बनाएर मात्रै निर्वाचनमा जानुपर्ने बताए । खिचातानीबिच चुनावमा भाग लिए पार्टी ठुलो बन्ने कल्पना गर्न नसकिने पुनले बताए ।
पुनले विशेष महाधिवेशनको माग गर्नेलाई बेवास्ता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने साथीहरूसँग सरसल्लाह गर्न आग्रह गरे । समयमा अधिवेशन होस्, नभए विशेष होस् भनेर हस्ताक्षर पेस गर्नुलाई अन्यथा लिन नहुने बताए ।







































