काठमाडौं । नेपालको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रत्यक्ष प्रभावित भई तत्काल स्वदेश फर्किनुपर्ने अवस्थामा रहेका नेपालीलाई दक्षिण कोरियास्थित नेपाली दूतावासले आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
दूतावासले एक सूचना जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला स्थायी ठेगाना भएका तथा कम्पनीबाट बिदा वा अनुमति नपाएर समस्यामा परेका श्रमिकहरूलाई आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्कमा आउन आह्वान गरेको हो ।
कोरियामा कार्यरत र बाढीका कारण घर फर्किनै पर्ने बाध्यतामा परेका नागरिकहरूले आफ्नो विवरण दूतावासमा टिपाउनुपर्नेछ ।
विवरण बुझाउँदा आफ्नो पूरा नाम, नेपालको स्थायी ठेगाना, टेलिफोन नम्बर, पासपोर्ट नम्बर, एआरसी नम्बरका साथै आफू कार्यरत कम्पनीको म्यानेजरको सम्पर्क नम्बर र ईमेल ठेगाना समावेश गर्नुपर्नेछ ।
कम्पनीबाट आवश्यक अनुमति वा बिदा प्राप्त नभई स्वदेश फर्किन कठिनाइ भएका नेपालीलाई समन्वय गर्न दूतावासले आफ्ना आधिकारिक सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरेको छ।
यसका लागि श्रम काउन्सेलरको ह्वाट्सएप नम्बर +९७९८५११८५१८६ तथा कानूनी सल्लाहकारको नम्बर +८२१०४९७९३२२९ मा सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराउन सकिने दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।








































