काठमाडौं । अपर त्रिशूली-३ बी जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका इन्जिनियर हेमन्तराज जोशीको अवस्थाबारे छैटौँ दिन सम्मपनि परीवारका सदस्यले कुनै सूचना पाएका छैनन् ।।
हेमन्तराजको खोजी तीव्र बनाउन परिवारले सरकारसँग सम्पूर्ण स्रोत–साधन परिचालन गर्न आग्रह गरेको छ। परिवार अहिले एउटा फोनको प्रतीक्षामा छ- ‘हेमन्त भेटिनु भयो।’
हेमन्तकी श्रीमती हृदयश्वरी जोशी तथा बहिनीहरू सावित्री जोशी, सरिता जोशी र रमा जोशीका लागि बितेको प्रत्येक दिन पीडादायी बन्दै गएको छ। सम्पर्कविहीन भएको छैटौँ दिनसम्म पनि कुनै सूचना नआउँदा परिवारको आशा र चिन्ता दुवै बढेको छ।
‘हरेकपटक फोन बज्दा उहाँ भेटिनु भयो कि भन्ने आशा लाग्छ। तर अहिलेसम्म त्यस्तो खबर आएको छैन,’ परिवारका सदस्य भन्छन्, ‘समय बित्दै जाँदा पीडा झन् बढिरहेको छ।
उद्धारमा संलग्न टोलीले जोखिमपूर्ण अवस्थामा काम गरिरहेको परिवारले स्वीकार गरेको छ। सुरुङ भित्रको अवस्था, भौगोलिक कठिनाइ, पानीको बहाव तथा आवश्यक उपकरणको अभावका कारण उद्धार चुनौतीपूर्ण हुनसक्ने उनीहरूको बुझाइ छ।
तर परिवारको प्रश्न छ- यस्तो जोखिमपूर्ण स्थानमा दुर्घटना हुँदा आवश्यक तयारी र स्रोत–साधन पहिल्यै किन सुनिश्चित गरिएन?
‘उद्धार कठिन छ भन्ने हामी बुझ्छौँ। उद्धारकर्मीहरूले जोखिम मोलेर काम गरिरहेका छन्, त्यसको सम्मान गर्छौँ,’ परिवार भन्छ, ‘तर यस्ता जोखिमपूर्ण आयोजनामा दुर्घटना हुँदा तत्काल परिचालन गर्नुपर्ने उपकरण, विशेषज्ञ र वैकल्पिक योजना किन तयार थिएन भन्ने प्रश्न उठ्छ।’
परिवारले त्रिशूलीमा भएको घटनालाई उच्च प्राथमिकतामा राखेर राष्ट्रिय स्रोत–साधन परिचालन गर्न सरकारसँग आग्रह गरेको छ।
‘नेपालमा उपलब्ध उपकरणले सम्भव छैन भने बाहिरबाट ल्याउनुपर्छ। विशेषज्ञ आवश्यक छ भने विदेशबाट भए पनि बोलाउनुपर्छ। एउटा उपायले काम गरेन भने अर्को विकल्प खोज्नुपर्छ,’ परिवारको भनाइ छ।
उनीहरूले सुरुङ, पावरहाउस, पहुँचमार्ग तथा सम्भावित सबै क्षेत्रमा खोजी तीव्र बनाउन माग गरेका छन्।
‘एउटा प्रयास असफल भयो भन्दैमा खोजी रोक्नु हुँदैन’
परिवारले उद्धारमा खटिएका टोलीलाई दोष दिन नचाहेको जनाएको छ। बरु उनीहरूको मनोबल उच्च राख्दै खोजीलाई थप प्रभावकारी बनाउन आग्रह गरेको छ।
‘एउटा प्रविधिले काम गरेन भने अर्को प्रविधि प्रयोग गरियोस्। एउटा बाटो बन्द भयो भने अर्को सम्भावना खोजियोस्,’ परिवार भन्छ, ‘तर समय त्यसै बित्न दिनु हुँदैन।’
छैटौँ दिन पनि बाँकी छ आशा
सरकारी संयन्त्रका लागि छैटौँ दिन एउटा दिन हुन सक्छ, तर बेपत्ता परिवारका लागि हरेक घण्टा महत्वपूर्ण छ।
श्रीमती हृदयश्वरी र बहिनीहरू अझै पनि हेमन्तराज सकुशल फर्कने आशामा छन्।
‘हामीलाई अहिले आशा छ। आशा रहँदासम्म खोजी रोक्नु हुँदैन,’ परिवार भन्छ, ‘कुनै सम्भावना बाँकी नराखी प्रयास गरिनुपर्छ।’
‘हामी विरोध होइन, हाम्रा मान्छे खोजिदिन आग्रह गरिरहेका छौँ’
परिवारले सरकार र उद्धारमा संलग्न निकायलाई सहयोग गर्ने जनाएको छ। तर आफ्ना आफन्तको खोजीका लागि प्रश्न उठाउनु आफ्नो अधिकार भएको उनीहरूको भनाइ छ।
‘हामी सरकारको विरोध गर्न चाहँदैनौँ। उद्धार टोलीको मनोबल घटाउन चाहँदैनौँ। हामी केवल हाम्रा मान्छे खोजिदिन आग्रह गरिरहेका छौँ,’ परिवार भन्छ।
अपुष्ट सूचना र हल्लाले परिवारको पीडा थप बढाउने भन्दै उनीहरूले विश्वसनीय सूचना मात्र सार्वजनिक गर्न आग्रह गरेका छन्।







































