वि.सं.२०८२ कात्तिक ३० आइतवार

नेकपा एकीकृत समाजवादीको दोस्रो दिनको बैठक जारी,सकियो प्रतिनिधिमूलक बोल्ने पालो

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो दिनको बैठक जारी छ । दोस्रो दिन शीर्ष नेताहरुले प्रतिनिधिमूलक रुपमा बोल्ने क्रम सकिएसँगै केन्द्रीय सदस्यहरु बोल्न थालेका छन् ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन र पार्टी एकताबारे भइरहेको प्रगति विवरणमाथि केन्द्रित रहेर सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष जगन्नाथ खतिवडाले धारणा राखेका छन् ।

धारणा राख्ने क्रममा नेता हमालले एकता वार्ताका क्रममा तीनवटा कुरालाई प्रधानताका साथ उठाएर माओवादीसँग वार्ता भइरहेको जानकारी गराएको एक केन्द्रीय सदस्यले बताए ।

‘समाजवादी क्रान्तिको बाटो र शान्तिपूर्ण क्रान्तिको बाटोमा जान माओवादी र हाम्रो पार्टीबिच सिद्धान्तत: सहमति जुटेको छ’, हमालले बैठकमा गराएको जानकारी दिँदै ती नेताले भने, ‘दोस्रो सम्मानजनक सांगठानिक एकता र तेस्रो नेतृत्वको प्रक्रियामार्फत पुनर्गठन गर्नेगरी छलफल भएको छ ।’

उनले एकीकृत पार्टीको ६ महिनामा एकता महाधिवेशन गर्न पनि दुवै पक्ष सहमत भएको बताएका छन् । ‘उद्देश्य एकता नै हो । समाजवादी क्रान्तिका लागि ठुलो शक्ति चाहिन्छ, त्यसका लागि एकता चाहिन्छ, एकता गर्दा समाजवादी क्रान्ति पहिलो सर्त हो । सम्मानजनक एकता र नेतृत्व परिवर्तनमा सहमति नजिक छ’, हमालको भनाइ थियो ।

उपाध्यक्ष जगन्नाथ खतिवडाले माओवादीका कारण ६ महिनामै विद्रोह गर्नुपर्ने अवस्था पनि आउन सक्ने भएपनि त्यो पछिको कुरा भएको बताए । ‘तर अहिले विभिन्न भू–राजनीतिका कारणले पनि एकता गर्नुपर्ने आवश्यकता छ’, खतिवडाले बैठकमा भने, ‘त्यो हुँदा मैले माधव नेपाललाई तपाईंले पनि छाड्नुस् भनेको थिएँ । उहाँले हातगोडा लाग्दै आफूले पनि छाड्ने र अरुले पनि छाडे हुन्छ भन्नुभएको छ ।’

खतिवडाले प्रचण्डले नछाड्ने तर माधवले छाड्नुपर्छ भन्ने कुरा जायज नभएको बताए । यस अघि नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले नेता नेपाललाई राजीनामा दिन सुझाव दिँदै अहिलेकै अवस्थामा एकता गर्न नहुनेमा जोड दिएका थिए ।

प्रतिनिधिमूलक बोल्ने क्रम सकिएसँगै खाजा ब्रेक र त्यसपछि केन्द्रीय सदस्यहरुलाई धारणा राख्न फ्लोर ओपन गरिएको छ । बैठक शुक्रबार सकिने भनिएपनि यही गतिमा चले लम्बिने देखिएको छ ।