काठमाडौं । विनाशकारी बाढीपछि सम्पर्कविहीन सुनसरीको दुहबी-४ घर भएका इन्जिनियर सचिन गौतमको छैटौँ दिनसम्म पनि कुनै अत्तोपत्तो छैन । परिवारले निरन्तर खोजीका लागि आग्रह गरिरहे पनि सचिनको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
२६ वर्षीय सचिन करिब डेढ वर्षदेखि रसुवास्थित अपर त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत् आयोजना कोरियन डुसन कम्पनीमा इन्जिनियरका रूपमा कार्यरत छन् ।
दुहबी-४ निवासी सोमनाथ गौतम र नारायणी गौतमका सचिन एक्ला छोरा हुन । दुःख, संघर्ष र अनेक अभावका बीच पढाएर इन्जिनियर बनाएको छोराले परिवारको भविष्य सम्हाल्ने आशा बोकेका आमाबुबाका लागि अहिले हरेक क्षण पीडादायी बनेको छ ।
सचिन बेपत्ता भएको खबरपछि आमा नारायणी अर्धचेत छिन् । चिन्ताले रक्तचाप बढेपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
परिवारको एउटै आग्रह छ-सचिन लगायतका इन्जिनियरको खोजी सबै संयन्त्र परिचालन गरी अझ तीव्र बनाइयोस् र सकुशल सम्पर्कमा ल्याइयोस् ।
एक्लो छोराको बाटो हेर्दै बसेका आमाबुबाको आँखामा अहिले एउटै प्रश्न छ-सचिन कहाँ छन् ?







































