वि.सं.२०८३ वैशाख ९ बुधवार

सभामुख देवराज घिमिरेलाई ज्ञानेन्द्र शाहीका ८ बुँदे सुझाव, जेनजीका माग पूरा हुनुपर्नेमा जोड

khanepani

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद पुनःस्थापनाको विषयमा राष्ट्रिय सहमति जुटाउनका लागि बोलाएको प्रमुख राजनीतिक दलहरूको बैठकमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेनजीका माग पूरा हुनुपर्नेमा जोड दिएका छन् । जेनजीका माग पूरा गर्ने सुनिश्चितता भएपछि मात्र संसद पुनःस्थापनाको मुद्दा लिएर अघि बढ्न उनले सभामुखलाई सुझाव दिए ।

सभामुख घिमिरेले ११ राजनीतिक दलका पूर्वप्रमुख सचेतकहरूलाई बोलाएर संसद पुनःस्थापनाको आवश्यकता र प्रक्रियाबारे छलफल गरेका हुन् । सोही क्रममा राप्रपाका तर्फबाट सहभागी भएका शाहीले संसदलाई निरन्तरता दिने वा पुनःस्थापना गर्नेभन्दा पनि देशलाई सही दिशा दिनका लागि आधारभूत सुधार आवश्यक रहेको बताए ।

प्रवक्ता शाहीले ८ बुँदे संरचनागत सुधारको खाका प्रस्तुत गरेका थिए । राप्रपाले यी मागहरू पूरा गर्ने प्रतिबद्धता संसदबाट नआएसम्म पुनःस्थापनाको प्रक्रिया रोक्न अडान लिएको छ ।

उनले राखेका मुख्य मागहरू यस्ता छन्ः

१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीः राजनीतिक नेतृत्वमा बलियोपन र स्थिरता कायम गर्नका लागि वर्तमान अस्थिर संसदीय प्रणालीको सट्टामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली लागू गर्न तत्काल राष्ट्रिय बहस थाल्नुपर्ने र संवैधानिक सुधारको पहल गरिनुपर्ने ।

२. प्रदेश संरचना खारेजः राज्यको दोहोरो खर्च बढाएको र सेवा प्रवाहमा प्रभावकारिता नल्याएकाले वर्तमान प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने । संघीयतालाई केन्द्र र ‘बलियो स्थानीय तह’ मा मात्र सीमित गर्नेतर्फ अध्ययन र सहमति खोजिनुपर्ने ।

३. गैरदलीय स्थानीय तहः स्थानीय स्तरको विकास र सेवा प्रवाहलाई दलगत राजनीतिकरणबाट मुक्त गर्नका लागि गैरदलीय (दलगत राजनीतिमुक्त) स्थानीय तहको अवधारणा लागू गरिनुपर्ने ।

४. संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्दः संवैधानिक निकायहरूको निष्पक्षता, मर्यादा र विश्वास कायम राख्न राजनीतिक प्रभावमुक्त, योग्यता र क्षमताका आधारमा मात्र नियुक्ति गर्ने प्रणाली विकास गरिनुपर्ने ।

५. राष्ट्रिय एकता कायम गरः देशमा राष्ट्रिय एकता, सद्भाव कायम गर्नुपर्ने ।

६. भ्रष्टाचार नियन्त्रणका लागि नयाँ कठोर कानुनः भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न र दोषीलाई कठोरतम कारबाही गर्न सक्ने गरी सशक्त र प्रभावकारी नयाँ कानुन तत्काल निर्माण गरिनुपर्ने ।

७. प्रतिनिधिसभा उम्मेदवारको उमेर हद घटाउनेः १८ वर्षका नागरिकले भोट हाल्ने अधिकार पाएकाले राज्यसत्ता सम्हाल्न पनि सक्षम रहेको हुँदा प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि तोकिएको उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष गरिनुपर्ने ।

८. अनलाइन मतदान प्रणालीको व्यवस्थाः विदेशमा रहेका करोडौँ नेपाली श्रमिक, विद्यार्थी र पेशाकर्मीहरूलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनका लागि सुरक्षित, विश्वसनीय र पारदर्शी अनलाइन मतदान प्रणालीमार्फत भोट हाल्ने व्यवस्था तत्काल मिलाइनुपर्ने ।

ranechhap