वि.सं.२०८३ भदौ २४ बुधवार

विचारको किल्ला भत्काउने योजनासहित पार्टी फुटको हल्ला हेडक्वार्टरबाटै चलाइयो : पूर्वमन्त्री मण्डल

khanepani

विराटनगर । पूर्व मन्त्री तथा माओवादीका नेता शिवकुमार मण्डलले पाटी विभाजनको हल्ला पाटीको शीर्ष स्तरबाट चलाइएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले विचारको केन्द्र भत्काउने योजना सहित हल्ला चलाइएको बताएका छन् । उनले माओवादी भित्र देखिएको विवादका विषयमा पाटी फुटाउने हल्ला लाई भ्रमको खेती भन्दै चिर्नु पर्ने बताएका छन् ।

उनले लेखेका छन् हल्ला चिर्दै, मङ्सिरको विशेष महाधिवेशनलाई वैचारिक पुनर्जागरणको थलो बनाउनु पर्छ । पाटी भित्र जनार्दन शर्माले नेतृत्वका विषयमा प्रश्न गर्दै आएका छन् । उनले गरेको प्रश्नलाई पाटी विभाजनको आरोप लगाइँदै आइएको छ ।

मण्डलले जनार्दनको पक्षमा खुल्दै लेखेका छन् ,’एउटा यस्तो मोडमा उभिएका छौँ, जहाँ सत्य बोल्ने आँट गर्नेलाई पार्टी विभाजन गर्न खोजेको ट्याग लगाइन्छ, र जनताको भरोसा माफियावादको छायामा हराउँदै छ। पार्टी फुट्ने हल्ला तलबाट होइन, सत्ताको शीर्ष स्तरबाटै चलाइएको छ ।’

उनले अध्यक्ष वरिपरि स्वार्थपूर्तिकारी घेरा बनाएर सत्ता र शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिले ऐतिहासिक योगदानलाई गुमाउने खतरा रहेको बताए ।

उनले केपी ओलीलाई विधि मिचेर माफियासँग दलाली गर्न दिएका गल्तीहरू पनि हाम्रो सामु छर्लङ्गै रहेको दाबी गरेका छन् । उनले लेखेका छन्,’ओली प्रवृत्तिलाई हुर्काउने पात्रहरूको विरुद्ध सशक्त प्रतिवाद गर्नु आजको अनिवार्य राजनीतिक जिम्मेवारी हो।’

उनले सरकारसँगको ‘भिजिट भिसा’ सहमतिले अन्तर्राष्ट्रिय जगतमा नैतिक रूपमा कमजोर बनाएको बताए । उनले आत्म समीक्षाको यो क्षण हामीले गुमाउनु नहुने समेत बताएका छन् । उनले भनेका छन्, ‘देश संकटमा छ। संविधान संशोधन, आर्थिक पुनःसंरचना, र पार्टीको पुनर्गठन आजको ऐतिहासिक आवश्यकता हो ।’

उनले जनार्दन शर्माले उठाएको विषय ठिक भएको बताएका छन् उनले लेखेका छन्, ‘कमरेड प्रभाकरले उठाएको लोकतान्त्रिक विचारलाई दबाएर माफियालाई बल दिन खोज्ने प्रवृत्तिले न पार्टी जोगिन्छ, न देश ।’

उनले साँचो सुशासन चाकरी र चाप्लुसीमा होइन, जबाफदेहिता र विधि पद्धतिमा आधारित हुने बताए ।

मण्डलले पार्टी सही प्रक्रियामा चले मात्र जनयुद्ध र त्यसबाट प्राप्त उपलब्धिहरू संस्थागत हुने बताएका छन् ।

ranechhap