पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि पोखराका कवाडी व्यवसायीहरूले सहयोग गरेका छन् । युवा व्यवसायी सुजन गुरुङको विशेष पहल तथा आह्वानमा सङ्कलित रकमबाट करिब १० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो ।
उक्त राहत सामग्री पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिएको छ । कवाडी व्यवसायीहरूबाट सङ्कलित रकममध्ये ८ लाख रुपैयाँको सामग्री खरिद गरिएको र ढुवानी खर्चसहित कुल १० लाख रुपैयाँ बराबरको सहयोग जुटाइएको व्यवसायीहरूले बताएका छन् ।
बाढीपीडित परिवारलाई भाँडाकुँडाहरू सहयोग गरिएको गुरुङले बताए । जसअन्तर्गत १ सय ३० थान प्रेसर कुकर, १ सय ६५ थान तरकारी पकाउने कराई, १ सय ६५ थान डाडु र १ सय ६५ थान पन्यूँ छन् । त्यसैगरी, ६ सय थान थाल, ६ सय थान कचौरा, ६ सय थान गिलास र ६ सय थान चम्चा उपलब्ध गराइएको छ । १ सय ६५ परिवारका लागि पुग्ने गरी सामग्री सहयोग गरिएको छ ।
‘भोटेकोशीमा आएको बाढीले धेरै दाजुभाइ दिदीबहिनीको बास मात्र होइन, गाँस पकाउने भाँडाकुँडासमेत बगाएर बिचल्ली बनाएको छ,’ उनले भने, ‘त्यस्तो विषम परिस्थितिमा पोखरामा पसिना बगाउने कवाडी व्यवसायी साथीहरूलाई एकजुट बनाएर हामीले यो सानो सहयोग जुटाएका हौँ । हाम्रो यो प्रयासले बाढीपीडितको चुलो बल्न सकोस् र घाउमा थोरै भए पनि मलम लागोस् भन्ने हाम्रो चाहना हो ।’
विपद्को समयमा पीडामा परेका नागरिकलाई मलम लगाउनु सबैको मानवीय दायित्व भएको उनले बताए । सामग्री बुझेपछि पोखरा महानगरपालिकाका प्रमुख आचार्यले कवाडी व्यवसायीहरूको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे । ‘विपद् कुनै भूगोल वा क्षेत्र विशेषको मात्र हुँदैन, यो साझा पीडा हो,’ उनले भने, ‘पोखराका कवाडी व्यवसायीहरूले देखाउनु भएको यो आत्मीयता र सहयोग साँच्चिकै प्रशंसनीय छ ।’ प्राप्त सामग्रीलाई महानगरपालिकाले व्यवस्थित हिसाबले वास्तविक पीडितको हातमा पुर्याउने उनले बताए ।
महानगरपालिकाका अनुसार प्राप्त भान्सा सामग्रीलाई प्रतिपरिवार प्याकेजका रूपमा तयार गरी १ सय ६५ घरधुरीलाई वितरण गर्ने योजना बनाइएको छ । महानगरले ३ वटा गाडीमा राहत सामग्री लोड गरी प्रभावित क्षेत्रतर्फ पठाउने तयारी गरिसकेको छ । भाँडाकुँडा बाहेक लत्ताकपडा, सिरक र डसना समेत सहयोग संकलन गरिएको छ ।







































