काठमाडौं । छुर्पीको गुणस्तर मापदण्ड स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस हुने भएको छ । त्यसका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड पशुपन्छी विकास मन्त्रालयमा पठाउने छ र मन्त्रालयले मन्त्रिपरिषदमा लैजाने छ ।
मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा विहीबार बसेको खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठकले छुर्पीको अनिवार्य गुणस्तर मापदण्डलाई मन्त्रिपरिषदबाट स्वीकृतिका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेस गर्ने निर्णय गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । यसका साथै छुर्पीको ‘प्रोसेस स्टाण्डर्ड’ सहित असल उत्पादन अभ्यास सम्बन्धी कार्यविधि विभागले तयार गरी पेश गर्ने निर्णय पनि भएको छ ।
बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ७ (च) बमोजिम आवश्यकता र औचित्यताको आधारमा विज्ञ सम्मिलित विषयगत मस्यौदा तयारी उपसमितिहरु गठन गर्न समितिका सदस्य सचिव तथा विभागका महानिर्देशकलाई जिम्मा दिने निर्णय समेत भएको प्रवक्ता महर्जनले बताए ।
कृषि मन्त्रालयका सचिव अध्यक्ष रहने खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कृषि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका सहसचिहरु, नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, उपभोक्ता हित सम्बन्धी संस्थाका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा खाद्य विज्ञको प्रतिनिधित्व हुन्छ । समितिको सदस्य सचिव खाद्य प्रविधि तथा गुण निन्त्रण विभागको महानिर्देशक रहने व्यवस्था छ ।