वि.सं.२०८३ वैशाख ८ मंगलवार

बंगलादेशमा अन्तरिम सरकार प्रमुख युनुसले बनाए रेफात अहमदलाई प्रधानन्यायाधीश

khanepani

एजेन्सी । बंगलादेशमा प्रधानन्यायाधीशले राजीनामा दिए लगत्तै अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नयाँ प्रधानन्यायाधीश नियुक्त गरेका छन्।

शनिबार सैयद रेफात अहमदलाई युनुसले प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। उनी उच्च अदालतका वरिष्ठतम् न्यायाधीश थिए।

उनलाई शनिबार पुनरावेदन डिभिजनको न्यायाधीश हुँदै प्रधानन्यायाधीश नियुक्त गरिएको कानुन सचिव मोहम्मद गोलमले बंगलादेशी समाचार संस्था द डेली स्टारलाई बताएका छन्।

बंगलादेशमा शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत भागेपछि त्यहाँ मोहम्मद युनुस नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ।

विद्यार्थी आन्दोलनको नेतृत्व गरेका नाहिद इस्लाम र आशिफ महमुद पनि अन्तरिम सरकारमा सहभागी छन्।

उनीहरूले देशमा लोकतन्त्र पुनस्थापनाका लागि निर्वाचन आयोग र न्यायलय पुनर्संरचना गर्ने बताएका थिए।

सोही अनुसार शनिबार विद्यार्थीहरुले सर्वोच्च अदालत परिसर घेरेर नाराबाजी गर्दै प्रधानन्यायाधीशको राजीनामा मागेका थिए।

विद्यार्थीहरूले प्रधानन्यायाधीशलाई राजीनामा गर्न दिउँसो १ बजेसम्मको समय दिएका थिए।

त्यसअघि नै प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा घोषणा गरेका थिए। त्यसपछि साँझ नै राष्ट्रपति मोहम्मद शहाबुद्दिनलाई राजीनामा पत्र बुझाएका थिए।

शनिबार ओबेदुलसँगै अन्य पाँच न्यायाधीशले पनि राजीनामा दिएका थिए।

राजीनामा स्वीकृत भएलगत्तै रेफात अहमद नयाँ प्रधानन्यायाधीश नियुक्त भएका हुन्।

ranechhap