काठमाडौं । बहुप्रतिक्षीत मेल्रम्चीको पानी काठमाडौंको महाँकाल क्षेत्रबाट वितरण शुरु भएको छ । आइतबार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण शुभारम्भ गरिएको हो।
सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा बिच्छ्याइएको थोक वितरण पाइपलाइनहरुको सफल परीक्षण पश्चात महाँकालचौरको ट्याङ्कीमा पानी आइपुगेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ ।
उक्त पानी आइतबार दिउँसोदेखि नै चावहिल महाँकालचौर क्षेत्रमा वितरण गरिने केयूकेएलका अधिकारीको भनाइ रहेको छ।
‘पुराना पानी पोखरीहरुमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएका नयाँ पाइपलाइनहरु परीक्षण गर्दै लैजाने योजना अन्तर्गत पहिलो चरणमा आज दिनभरिमा ४ करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा गरिने कुरा केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य सम्बाददाताहरुसंग बताएका हुन ।
आइतबार साँझसम्म काठमाडौंको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ । आइतबार काठमाडौं उपत्यकामा मेलम्चीको ४ करोड लिटर पानी वितरण गरिने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले पानी वितरण शुभारम्भ कार्यक्रममा बताएका छन ।








































