काठमाडौं । काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चेकिङ कडा बनाएको छ।
आइतबार फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजरमा राख्दै बिहानैदेखि चेकिङ गर्न थालेको हो। महाशाखाका अनुसार चेकिङ बेलुकी ९ बजेसम्म रहनेछ।
काठमाडौं उपत्यकाभरि ९० ठाउँमा ट्राफिक चेकिङ भइरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए।
‘ट्राफिक नियमको उल्लंघन गर्नेहरूका लागि कडा छ। अरूका लागि सामान्य नै हुन्छ। काठमाडौं उपत्यकामा अहिले ९० ठाउँमा चेकिङ भइरहेको छ,’ उनले भने।
त्यस्तै, डेढ सय सवारीसाधन कारबाहीमा परिसकेको एसपी अधिकारीले बताए।
‘डेढ सय कारबाहीमा परिसकेका छन्। कागजात नबोकेका कारण कारबाहीमा पर्ने धेरै छन्,’ उनले भने, ‘मापासे गरी सवारी चलाउनेहरू थोरैमात्र भेटिए।’









































