काठमाडौँ। बिदा बसेर तथा आफूखुसी ब्यारक छाडी भागिहिँडेका नौ जना सशस्त्र प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । विभिन्न एकाइबाट गैरहाजिर भई कुनै सम्पर्कमा नरहेका ती कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको मनासिब कारणसहित सम्बन्धित कार्यालयमा सम्पर्क राख्न भनिएको हो ।
निर्धारित समयभित्र हाजिर नभए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) को नियम ११८ को उपनियम (१) को प्रयोजनार्थ कारबाही प्रक्रिया अघि बढाइने गृह मन्त्रालयअन्तर्गतको सशस्त्र प्रहरी बलले जनाएको छ।
गैरहाजिर रहनेहरूमा सशस्त्र प्रहरी जवान रामा गिरी (स.प्र.बल नं. ७ वैद्यनाथ वाहिनी मुख्यालय), सशस्त्र प्रहरी जवान भानुभक्त बुढाथोकी (स.प्र.बल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँके), सशस्त्र प्रहरी जवान प्रेमबहादुर खत्री (स.प्र.बल औद्योगिक सुरक्षा बेस प्रगतिनगर नवलपरासी), सशस्त्र प्रहरी वरिष्ठ हवल्दार महेन्द्र पासी (स.प्र.बल सुरक्षा बेस परासी, पश्चिम नवलपरासी) र सशस्त्र प्रहरी जवान अनिल लुहार (स.प्र.बल नं. ३५ गण हे.क्वा. शैलेश्वरी कञ्चनपुर) रहेका छन्।
त्यस्तै, सशस्त्र प्रहरी जवान उमेश रुपाचा (स.प्र.बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट निलबराही काठमाडौँ), सशस्त्र प्रहरी जवान होमेचन्द्र राई (स.प्र.बल नं. ७ गुल्म हे.क्वा. हलेसी खोटाङ), सशस्त्र प्रहरी जवान रमेश लिम्बु (स.प्र.बल फिल्ड अस्पताल हेटौँडा मकवानपुर) र सशस्त्र प्रहरी वरिष्ठ हवल्दार विकास राई (स.प्र.बल प्रधान कार्यालय, केन्द्रीय लेखा शाखा) पनि लामो समयदेखि गैरहाजिर रहेका हुन्।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै ‘तोकिएको अवधिभित्र चित्तबुझ्दो कारणसहित उपस्थित नभए नियमावली बमोजिम सेवाबाट हटाउनेसम्मको कारबाही हुने’ चेतावनी दिएको छ।








































