वि.सं.२०८३ भदौ ३ बुधवार

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्वरोजगार प्रयोजन सवारी किन्दा शतप्रतिशत कर छुट

khanepani

काठमाडौं । सरकारले जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्वरोजगार प्रयोजनका लागि अधिकतम २० लाख मूल्य बराबरका सवारीसाधन खरिदमा शतप्रतिशत कर छुट दिने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृत एकीकृत प्याकेज बमोजिम छुट दिइएको हो ।

सरकारले १५ लाख मूल्यसम्मका पेट्रोल–डिजेल वा कारोबार मूल्य २० लाख रुपैयाँसम्म भएका विद्युतीय सवारीसाधन आयातमा लाग्ने कर र महसुल पूर्णरूपमा छुट हुने भएको छ ।

तर, यो सूचीमा हिउँमा यात्रा गर्न बनेका गाडी, गल्फ कार र यस्तै गाडी तथा भन्सार शीर्षक ८७.०३ अन्तर्गतका स्टेसन वागन र रेसिङ कार तथा विभिन्न उपशीर्षकमा पर्ने अनएसेम्बल्ड अवस्थाका सवारीसाधन खरिदमा भने यो छुट पाइने छैन ।

मन्त्रालयका अनुसार यो छूट पाउन जेनजी आन्दोलनका सहिद परिवार, अतिगम्भीर तथा गम्भीर घाइते भनी खुलेको परिचयपत्र आवश्यक पर्ने छ । यो सुविधा चालु आर्थिक वर्ष २०८३/८४ का लागि मात्र मान्य हुनेसमेत अर्थ मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले नेपालभित्र पैठारी हुने वा उत्पादन हुने विद्युत्बाट सञ्चालन हुने एम्बुलेन्स र शववाहनमा स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेको छ ।

यसबाहेक यस्ता सवारीसाधनमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत पूर्णरूपमा छुट दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

ranechhap