वि.सं.२०८३ भदौ ४ बिहीवार

बालिकामाथिको जघन्य अपराधमा प्रहरीको कमजोरी भएको रास्वपा सांसदको भनाइ

khanepani

काठमाडौं । सांसदहरूले बाराको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरुले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानबिन गर्न माग गरे ।

बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा बालिका हराएको जानकारी गराएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट कुनै खोजी वा कारबाही अघि नबढाइएको बताए ।

घटना दर्ता भएपछि प्रत्येक घण्टा प्रहरीले के-कस्ता कदम चाल्यो भन्ने स्पष्ट ‘एक्सन लग’ सार्वजनिक गर्नुपर्ने र दोषी प्रहरी अधिकारीहरूमाथि कारबाही हुनुपर्ने उनले माग गरे ।

सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध रोक्न गृह मन्त्रालयलाई तत्काल गम्भीर हुन उनको आग्रह छ ।
अन्य सांसदहरुले पनि उक्त घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार जितपुरसिमरा-१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो ।

ranechhap