काठमाडौं । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक रुपमा पुन: सुरु गरेका छन् । कोभिड–१९ महामारीका कारण २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेक र हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट फेरि सुरु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन् । यसैगरी, शिप्की–ला नाकाबाट पनि पहिलो समूहका व्यापारी तिब्बततर्फ प्रस्थान गरेका टाइम्स अफ इन्डियाले जनाएको छ ।
भारत र चीनले यसअघि जुन १ देखि व्यापार पुन: सञ्चालन गर्ने सहमति गरेका भए पनि आवश्यक पूर्वाधार र प्रशासनिक तयारी नपुगेका भन्दै कार्यान्वयन भएको थिएन ।
नेपालको असहमति
लिपुलेक क्षेत्र नेपालले आफ्नो सार्वभौम भूभाग भएको दाबी गर्दै आएको छ । भारत र चीनले नेपालको सहमति वा सहभागिताबिना लिपुलेक हुँदै व्यापार पुन: सञ्चालन गर्ने निर्णय गरेलगत्तै नेपाल सरकारले त्यसप्रति असहमति जनाएको थियो ।
परराष्ट्र मन्त्रालयले यस अघि जारी गरेको विज्ञप्तिमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग सम्बन्धित विषयमा कुनै पनि निर्णय वा गतिविधि नेपाललाई समावेश नगरी गर्नु स्वीकार्य नहुने स्पष्ट पारेको थियो ।
नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै आएको छ । भारतले भने लिपुलेक उत्तराखण्डको पिथौरागढ जिल्लाअन्तर्गत पर्ने आफ्नो भूभाग भएको अडान राख्दै आएको छ भने चीनले पनि भारतसँग यही मार्ग हुँदै व्यापार पुन: सञ्चालन गरेको हो ।
पुन: व्यापार सञ्चालन हुँदा भने नेपाल सरकारकोतर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । तर परराष्ट्र मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग अनौपचारिक कुरा गर्दै यस विषयलाई सरकारले गम्भिरतापूर्वक लिएको बताए । ‘यो गम्भीर विषय हो । यस विषयमा सरकारले आफ्नो च्यानलमार्फत् सम्बन्धित ठाउँमा कुरा राख्छ,’ ती अधिकारीले भने ।
सन् २०१५ मा भारत र चीनले लिपुलेक हुँदै व्यापार तथा आवागमन विस्तार गर्ने सहमति गरेपछि नेपालले औपचारिक विरोध जनाएको थियो । त्यसपछि सन् २०२० मा भारतले लिपुलेक जोड्ने सडक उदघाटन गरेपछि नेपाल–भारत सम्बन्धमा तनाव उत्पन्न भएको थियो । त्यसै वर्ष नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो ।
लिपुलेक हुँदै भारत–चीनबीचको सीमा व्यापार सन् १९९२ देखि सञ्चालन हुँदै आएको बताइन्छ । कोभिड–१९ महामारीका कारण २०२० मा बन्द भएको व्यापार पुन: सञ्चालनमा आएको भारतीय मिडियाहरुले लेखेका छन् ।
उत्तराखण्डको पिथौरागढ जिल्लास्थित लिपुलेक नाकाबाट पहिलो चरणमा १६ जना व्यापारी र चार जना सहयोगी कुनै पनि व्यापारिक सामान बिना तिब्बत प्रवेश गरेका छन् । दुवै देशले व्यापार सञ्चालनको प्रक्रिया पुन: सुरु गर्ने क्रममा चिनियाँ पक्षले तक्लाकोट व्यापार केन्द्रमा पूर्वाधार सीमित रहेको जनाउँदै पहिलो चरणमा २० जनालाई मात्र प्रवेश अनुमति दिएको थियो । साथै, सबै व्यापारीको विस्तृत व्यक्तिगत विवरण अग्रिम रूपमा उपलब्ध गराउन र सन् २०१९ को अन्तिम व्यापारिक सिजनमा सहभागी भएकालाई प्राथमिकता दिन आग्रह गरेको थियो ।
सोही अनुरूप व्यापारीहरूको संगठनले सन् २०१९ मा व्यापार गरेका र २०२० मा व्यापार बन्द हुँदा तक्लाकोटमा सामान अड्किएका व्यापारीलाई पहिलो प्राथमिकतामा राखेको थियो । धार्चुलाका उपजिल्ला अधिकारी (एसडीएम) तथा जिल्ला व्यापार अधिकारी आशिष जोशीका अनुसार यस व्यापारिक सिजनका लागि हालसम्म ६२ व्यापारी र ९३ सहयोगीसहित १५५ वटा व्यापार पास जारी गरिएको छ । अर्को समूहलाई अनुमति दिन भारतीय प्रशासनले चिनियाँ पक्षसँग अनुरोध गरिसकेको छ ।
यसैबीच, हिमाचल प्रदेशको शिप्की–ला दर्रा हुँदै पनि सीमा व्यापार पुन: सुरु भएको छ । प्रदेशका राजस्वमन्त्री जगत सिंह नेगीले पहिलो चरणका १६ भारतीय व्यापारीलाई तिब्बततर्फ बिदाइ गरेका हुन् । व्यापारीहरू घोडामार्फत ३,९३० मिटर उचाइमा रहेको शिप्की–ला दर्रा पार गरेर तिब्बतको शिप्की गाउँतर्फ गएका छन् ।
शिप्की–ला हुँदै हुने व्यापार नोभेम्बर ३० सम्म सञ्चालन हुनेछ र परम्परागत वस्तु विनिमय (बार्टर) प्रणाली अन्तर्गत हुनेछ । भारतीय व्यापारीले चिनियाँ सीमाभित्र ७२ घण्टासम्म बस्न पाउनेछन् । भारतीय गृह मन्त्रालयले पृष्ठभूमि जाँचपछि ५३ जना व्यापारीलाई अनुमति दिएको छ ।
भारतीय व्यापारीलाई ३६ प्रकारका वस्तु निर्यात गर्न अनुमति दिइएको छ, जसमा सुक्खा फलफूल, मसला, हस्तकला सामग्री र जडीबुटी छन् । त्यस्तै चिनियाँ व्यापारीले २० प्रकारका वस्तु, जस्तै पस्मिना, ऊन, याकको रौँ, भेडा र बाख्राको छाला तथा चाइना क्ले भारत ल्याउन पाउने छन् । अधिकारीहरूका अनुसार भारतीय पक्षबाट व्यापार गर्न मिल्ने वस्तुको कुल सूची ७२ प्रकार र चिनियाँ पक्षबाट ३० प्रकार रहेको छ ।







































