काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशका विभिन्न भागमा भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।
महासङ्घले असोज ८ गतेदेखि १२ गतेसम्म विपद्को उच्च जोखिम रहेको जनाउँदै यातायात व्यवसायी, चालक, सहचालक तथा आम यात्रुहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागको पूर्व सूचनालाई आधार मान्दै महासङ्घले एक सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
महासङ्घका महासचिव डेकनाथ गौतमद्वारा हस्ताक्षरित सूचनामा सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालन गर्नु पूर्व बाटो र मौसमको अवस्थाबारे अनिवार्य रूपमा जानकारी लिन मातहतका निकायलाई निर्देशन दिइएको छ ।
कुनै पनि रुटमा सेवा सञ्चालन गर्नु अघि स्थानीय निकाय र सुरक्षा निकायसँग समन्वय गर्न महासङ्घले आफ्ना सदस्य सङ्घ, समिति, कम्पनी र बुकिङ कर्मचारीहरूलाई अनुरोध गरेको छ । साथै, जोखिम भएका राजमार्ग र सडकहरूमा सम्भावित अवरोध पन्छाउन डोजर, एक्साभेटर, लोडर लगायतका साधन तयारी अवस्थामा राख्नसमेत सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
विपद्को पूर्व सूचना अनुसार जोखिमयुक्त स्थानमा रहेका व्यक्ति तथा परिवारलाई प्रतिकार्य गर्नु पूर्व नै सुरक्षित स्थानमा सार्न र आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती एवं पहिरोको जोखिमयुक्त स्थानका बासिन्दाहरूलाई विशेष चनाखो रहन महासङ्घले आग्रह गरेको छ ।
यसका साथै, सम्बन्धित सबै सङ्घीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र तिन वटै सुरक्षा निकायले आम सर्वसाधारणलाई सुसूचित गर्दै प्रतिकार्यका लागि तयारी अवस्थामा रहनुपर्ने कुरामा सूचनामार्फत जोड दिइएको छ ।
महासङ्घले विपद्को समयमा आवश्यक जानकारी र मद्दतका लागि विभिन्न हटलाइन नम्बरहरू सार्वजनिक गर्दै त्यसमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । वर्षा र बाढीबारे अद्यावधिक जानकारी लिन ११५५ र विपद्मा मद्दत माग्न ११४९ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।
त्यसैगरी, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल नेपालको हटलाइन नम्बर १११४ मा समेत सम्पर्क गरी तत्काल सहयोग लिन सकिने जनाइएको छ । सम्भावित जोखिमबाट बच्न नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने पूर्वानुमान र चेतावनीसम्बन्धी जानकारी निरन्तर लिइरहन पनि महासङ्घले सबैमा अपिल गरेको छ ।








































