वि.सं.२०८३ असोज ७ बुधवार

निर्वाचनमा कांग्रेसलाई अराजक शक्ति रोक्ने औजारका रूपमा समर्थन गरियो : मिराज ढुंगाना

khanepani

काठमाडौँ । युवा राजनीतिक अभियन्ता मिराज ढुंगानाले निर्वाचनका बेला नेपाली कांग्रेसलाई दिएको समर्थन तत्कालीन राजनीतिक परिस्थितिमा अराजक र अराजनीतिक शक्तिलाई रोक्न आवश्यक रहेको बताएका छन् । तर अहिलेको राजनीतिक समस्याको समाधान कांग्रेसबाट नहुने उनको धारणा छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढुंगानाले निर्वाचनका बेला कांग्रेसलाई ‘अराजक समूह रोक्ने औजार’का रूपमा प्रयोग गरिएको बताएका हुन्।

‘कांग्रेस निर्वाचनमा अराजक समूह रोक्ने औजार थियो तर आजको उपचार हैन,’ उनले लेखेका छन् । उनका अनुसार निर्वाचनका बेला अराजक र अराजनीतिक शक्तिबाट देशलाई जोगाउन कांग्रेसलाई समर्थन गर्नु तत्कालीन आवश्यकता थियो ।

उक्त समर्थन नगरेको अवस्थामा देश र राष्ट्रियता संकटमा पर्न सक्ने उनको बुझाइ थियो । उनले उक्त समर्थन कुनै दलप्रतिको स्थायी राजनीतिक समर्थन नभई ‘आवश्यकताको सिद्धान्त’मा आधारित आपत्कालीन समर्थन भएको स्पष्ट पारेका छन्।

ढुंगानाले पुरानो राजनीतिक दलको नेतृत्व परिवर्तन हुँदैमा राजनीतिक पद्धतिमा परिवर्तन नहुने धारणा पनि राखेका छन् । दशकौँदेखि सत्तामा रहेका राजनीतिक दलहरूसँग विद्रोहपछिको रूपान्तरण, विकास र समृद्धिका लागि आवश्यक स्पष्ट कार्यदिशा नरहेको तथा त्यस्ता दलसँग जनतासामु जाने नैतिक धरातलसमेत नरहेको उनको दाबी छ।

यद्यपि लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूको अस्तित्व स्वीकार गर्नुपर्ने उनले बताएका छन् । ‘यो लोकतन्त्र हो, त्यसैले हामीले अस्तित्व स्विकार्नै पर्ने ठाउँमा छौँ,’ उनले लेखेका छन्।

‘थर्ड पोल’ दलभन्दा व्यापक राजनीतिक धार

ढुंगानाले अब देशलाई वास्तविक राजनीतिक विकल्प दिन व्यापक छलफल आवश्यक रहेको बताएका छन् । ‘थर्ड पोल’ वा ‘वास्तविक वैकल्पिक शक्ति’लाई एउटा राजनीतिक दलमा मात्र सीमित अवधारणाका रूपमा बुझ्न नहुने उनको धारणा छ।

उनका अनुसार ‘थर्ड पोल’ एउटा वैचारिक राजनीतिक धारका रूपमा विकास हुनुपर्छ। यस्तो धारले नेपालमा रहेको ‘चरम नेपाली निराशा’ र विद्यमान अन्तर्विरोधहरूको समाधान खोज्दै समयसापेक्ष विकास र रूपान्तरणको बाटो पहिल्याउनुपर्ने उनको तर्क छ।

ढुंगानाको पछिल्लो अभिव्यक्तिले तत्कालीन निर्वाचनमा कांग्रेसलाई गरिएको समर्थन र दीर्घकालीन राजनीतिक दृष्टिकोणबिच भिन्नता रहेको देखाउन खोजेको छ। उनले अबको बहस देशका लागि दीर्घकालीन वैकल्पिक राजनीतिक धार निर्माणतर्फ केन्द्रित गर्नुपर्ने धारणा अघि सारेका छन्।

ranechhap