काठमाडौं । रास्वपाका सांसद राजीव खत्रीले जेन्जी आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? भन्ने कुरा सदनबाटै सङ्कल्प प्रस्ताव पारित गर्न माग गरे।
उनको भनाइ जस्ताको त्यस्तै-
गत चैत्र १९ गते बसेको पहिलो संसद् बैठकलाई सम्बोधन गर्दै हाम्रा सभापति रवि लामिछानेले भन्नुभएको थियो, न्याय पाउने पहिलो हक सहिदकी आमाको हो । तर ५८ औँ बैठकमा आइपुग्दा आफ्नो अपमान गरियो भन्दै सहिदकी आमा रुने अवस्था बन्यो ।
छोराको झोलामा कापी र किताब थियो, मुखमा भ्रष्टाचार विरोधी नारा थियो, छाती र टाउकोमा गोली हानियो, खुङ्खार आतङ्कवादी सरह मारियो । आमाको आँसु बलिन्द्र धारा झैँ बगिरह्यो । सहिदको रगत र आमाको आँसुको हिसाबकिताब हुन्छ भनियो तर छोराको लास माथि पद साटेको होइन भन्दै सदनमा चित्कार छोड्नुपर्ने दिन आयो ।
जेन्जी आन्दोलन सचेत युवाहरूको विद्रोह हो या होइन ? हो भने यही सदनबाट सङ्कल्प प्रस्ताव ल्याएर पास गरौँ । अनि दोषीलाई कठघरामा उभ्याएर जेन्जीलाई न्याय दिने सङ्कल्प गरौँ । नत्र सहिदकी आमाको आँसुले अवश्य पोल्ने छ ।







































