काठमाडौँ । अर्थशास्त्री सुदनकुमार ओलीले नेपालले भारत र चीनसँगको सम्बन्धलाई रणनीतिक साझेदारीमार्फत आर्थिक समृद्धिमा बदल्नुपर्ने बताएका छन्। परराष्ट्रमन्त्री शिशिर खनालको हालै भएको चीन र भारत भ्रमणले दुवै छिमेकी राष्ट्रले नेपाललाई विशेष महत्त्व दिएको उल्लेख गर्दै उनले यस अवसरलाई व्यावहारिक लाभमा रूपान्तरण गर्नुपर्ने बताएका हुन्।
ओलीका अनुसार नेपालका लागि भारत र चीन दुवै अत्यन्त महत्त्वपूर्ण साझेदार राष्ट्र हुन्। नेपालको कुल आर्थिक हितमध्ये करिब ६५ प्रतिशतभन्दा बढी भारतसँग र २० प्रतिशतको हाराहारीमा चीनसँग जोडिएको छ। भारतसँग विगतका तीतामीठा घटनालाई पछाडि छाडेर नयाँ ढङ्गले सम्बन्ध अघि बढाउन आवश्यक रहेको ओलीले उल्लेख गरे।
न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले परराष्ट्रमन्त्रीको छिमेकी देशको भ्रमणले सम्बन्धमा नयाँ आयाम थपेको र चीनसँग विगत केही समयदेखि देखिएका असमझदारी र मतभिन्नतालाई सुधार्ने अवसर दिएको बताए।
नेपाल–चीन सम्बन्धलाई ऐतिहासिक पृष्ठभूमि र वर्तमान विश्व आर्थिक परिवेश दुवै आधारमा मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, ‘विगत लामो समयदेखि चीन र नेपालका बीचमा केही कुराहरुमा मतैक्यता नभएको अवस्था पनि देखिन्छ । हाम्रो मिडियामार्फत आएका कुराहरुले कतिपय आम नागरिकहरुमा देखाएको एक प्रकारको भाष्यले पनि त्यसलाई काम गरेको हुनसक्छ । तर महत्वपूर्ण पाटो के हो भने, हामीले नेपाल र चीनको सम्बन्धलाई ऐतिहासिक रुपमा र अहिलेको वर्तमान परिप्रेक्ष्यमा दुवै पक्षबाट हामीले विश्लेषण गर्नुपर्ने देखिन्छ ।’
विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन र छैटौँ ठुलो अर्थतन्त्र भारतको बिचमा रहेको नेपालले रणनीतिक साझेदारीमार्फत ठुलो आर्थिक लाभ लिन सक्ने ओलीको तर्क छ। नागरिकबाट प्राप्त जनादेशलाई वर्तमान सरकारले राजनीतिक स्थायित्व र नीतिगत स्पष्टताका लागि उपयोग गरेर अब विकासका अवसर गुमाउन नहुने उनले बताए।
चीनसँगको परराष्ट्रमन्त्रीको छलफलमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई), क्षेत्रीय कनेक्टिभिटी, गुणस्तरीय पूर्वाधार तथा ग्लोबल गभर्नेन्स सम्बन्धी विषय प्रमुख रूपमा उठेको उल्लेख गर्दै ओलीले नेपालले यी अवसरहरूलाई उपयोग गर्नुपर्नेमा जोड दिए। विशेष गरी गुणस्तरीय पूर्वाधार, क्षेत्रीय सम्पर्क विस्तार, डिजिटल कनेक्टिभिटी र प्रविधि हस्तान्तरणका क्षेत्रमा चीनसँग सहकार्य बढाउन सकिने उनको भनाइ छ। सडक, रेल, हवाई सेवा, डिजिटल नेटवर्क र सीमा नाका सुधारमार्फत नेपालले आफ्नो व्यापारिक क्षमता विस्तार गर्न सक्ने ओलीले बताए।
वर्तमान राजनीतिक अवस्था र अवसरबारे चर्चा गर्दै उनले भने, ‘अहिले विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीन र अर्को छैटौं ठूलो राष्ट्र भारतको बीचमा रहेर हामीले रणनीतिक साझेदारको रुपमा हामीले काम गर्नसक्ने अवसरहरु सिर्जना भएको छ । एउटै पार्टीको झन्डै दुई तिहाईको बहुमतको सरकार निर्माण भएको बेलामा अब हामीलाई रोकिने ठाँउ छैन । नयाँ अवसरहरु सिर्जना गर्नलाई कुनै पनि बहाना चल्ने अवस्था छैन । यो ग्लोवल गभर्नेन्स इनिसियटिभको कुरा आयो, त्यसपछि बीआरई फ्रेमवर्कभित्र रहेका आयोजनाहरुलाई कार्यान्वयन गर्नेकुरा आएको छ । हाम्रो भूजडित राष्ट्र हुँदाहुँदै पनि हामीले त्यसलाई क्यापिटलाइज गर्न नसकिरहेको अवस्थामा यो एउटा अवसर पनि हो, जसरी चीनले नेपालको परराष्ट्रमन्त्रीको भ्रमणलाई लिएको छ । अब नेपाल सरकारले पनि परराष्ट्र सम्बन्धमा फरक ढंगले सोच्नुपर्छ । विगतका हाम्रा पञ्चशिलका सिद्धान्तहरु डेफिनेट्ली त्यो जरुरी छ । अहिले साउथ एशियन रिजनमा मात्रै नभएर ग्लोवल स्पेसमा पनि चीनको जुन भुमिका छ, हामी सौभाग्यवश चीन र भारतको बीचमा रहेर काम गर्दै गर्दा हामीले दुवै राष्ट्रहरुबाट आर्थिक लाभ लिनुपर्छ ।’
नेपालको सबैभन्दा ठुलो आर्थिक चुनौती उच्च ढुवानी र व्यवस्थापन खर्च रहेको उल्लेख गर्दै ओलीले नेपालले आधुनिक पूर्वाधार, नयाँ प्रविधि र क्षेत्रीय कनेक्टिभिटी विस्तार गर्न सकेमा उत्पादन लागत घट्ने र प्रतिस्पर्धात्मक क्षमता बढ्ने बताए। विश्व बजारको औसत भन्दा नेपालको लजिस्टिक लागत ३५ प्रतिशतभन्दा बढी रहेको उनले जानकारी दिए।
नेपालसँग सी पोर्ट (समुद्री बन्दरगाह) नभएको र हवाई मार्ग धेरै महँगो हुने भएकाले सडकमार्ग नै मुख्य विकल्प रहेको भन्दै उनले बीआरआई अन्तर्गतका नारायणघाट–बुटवल सडक, रिङरोड विस्तार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, तातोपानी–काठमाडौँ सडकलगायत परियोजनालाई प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे। प्रविधिको उत्पादकत्व बढाएर लजिस्टिक लागत घटाउन चीनसँग सबैभन्दा उत्तम प्रविधि रहेको उनको दाबी छ। चीनसँगको सहकार्यलाई केवल पूर्वाधार निर्माणमा सीमित नराखी प्रविधि हस्तान्तरण, प्राविधिक शिक्षा, मानव पूँजी विकास, हरित ऊर्जा, डिजिटल अर्थतन्त्र, सामाजिक सुरक्षा प्रणाली र डिजिटल शासनका क्षेत्रमा समेत विस्तार गर्नुपर्ने उनको भनाइ छ।
भारत र चीनबिच सन्तुलित सम्बन्ध कायम राख्दै नेपालले आफ्नै राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्नेमा ओलीले जोड दिए। एक देशलाई अर्को देशविरुद्ध प्रयोग गर्ने नभई नेपालको हितअनुसार प्राथमिकता तय गर्नुपर्ने बताउँदै उनले भने, ‘हामी लिग भन्दा बाहिर गएका छौ कि भन्ने महशुस हुन्छ । यतिखेर सहि समय आएको छ । हामीले एउटा देशलाई अर्को देशको रूपमा प्रयोग गर्ने होइन, नेपालको बेनिफिटको लागि नेशनल प्रायोरिटिजहरू सेट गरेर भारसँगसँग कुन–कुन कुरामा हामी कम्फर्टेबल हुनसक्छौँ, चीनसँग कुन कुन कुरामा कम्परेटिभ्ली कम्फर्टेबल हुनसक्छौं । यो कुरालाई राज्यले १–२–३ भनेर प्रायोरिटाइज गर्नुपर्छ ।’
नेपालले परराष्ट्र नीति, सुरक्षा नीति र आर्थिक नीतिलाई स्पष्ट र दीर्घकालीन दृष्टिकोणसहित अघि बढाउन आवश्यक रहेको उनले बताए। चीनका लागि ‘एक चीन नीति’, क्षेत्रीय स्थायित्व र बीआरआई जस्ता अन्तर्राष्ट्रिय पहलहरू महत्त्वपूर्ण विषय भएकाले नेपालले यस्ता संवेदनशील विषयलाई गम्भीरतापूर्वक बुझेर व्यवहार गर्नुपर्ने ओलीको धारणा छ। चीनले पछिल्ला वर्षहरूमा शिक्षा आदान–प्रदान र सांस्कृतिक सम्बन्धलाई ‘सफ्ट डिप्लोमेसी’ का रूपमा उपयोग गरिरहेकाले नेपालले त्यसबाट लाभ लिनुपर्ने र सही नीति तथा स्पष्ट प्राथमिकतासहित अघि बढेमा छिमेकी सम्बन्ध नयाँ उचाइमा पुग्ने उनले उल्लेख गरे।









































