रसुवा । नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका सभापति बाबुलाल तामाङले पदबाट राजीनामा दिएका छन् । विगत ४२ वर्षदेखि लगातार सभापतिको जिम्मेवारी सम्हाल्दै आएका तामाङले सोमबार लिखित राजीनामा बुझाएका हुन् ।
लामो समयदेखि रसुवामा रेडक्रसको नेतृत्व गर्दै आएका तामाङले आफ्नो घरायसी र शारीरिक अवस्थाका कारण अबको जिम्मेवारी सम्हाल्न नसक्ने व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
पत्रमा तामाङले लेखेका छन्, ‘विगत लामो वर्षदेखि यस जिल्ला शाखा सभापति पदमा रही कामकाज गर्दै आएको कुरा विदितै छ ।
मेरो घरायसी र शारीरिक अवस्थाले गर्दा यस जिल्ला शाखाको सभापति पदमा रही कामकाज गर्न नसक्ने भएकाले आजैका मितिबाट लागू हुने गरी सम्पूर्ण पदाधिकारी र सदस्य समक्ष यो राजीनामा दिएको छु ।’
तामाङले आफ्नो राजीनामासँगै अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वर्तमान उप-सभापति देकिछोमो तामाङलाई सुम्पिएका छन् ।
रेडक्रसको पुस्तान्तरण र रुपान्तरण अभियानमा साथ दिँदै उनले पद छाडेको बताएका छन् ।
त्यस्तै सुनसरी शाखाका सभापति उमेश थापाले पनि राजजीनामा दिएका छन् । थापा नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्रीसमेत हुन् ।
उनले राजीनामा पत्रमा घरायसि तथा विविध कारण देखाए पनि मानवीय संस्थामा दलको प्रभाव पर्न नदिन बाटो खाली गरेको बताइएको छ । उनको राजीनामा स्वीकृत गरिसकिएको सुनसरी शाखाका मन्त्री प्रकाश राईले केन्द्रीय कार्यालयलाई पत्र पठाएर जानकारी गराएका छन् ।







































