वि.सं.२०८३ भदौ ९ मंगलवार

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने, बैठक भदौ १० मा आह्वान

khanepani

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सांसदहरूले सोधेका प्रश्नहरूको प्रत्यक्ष जवाफ दिने भएका छन् । गत साउन १५ गतेदेखि स्थगित हुँदै आएको प्रदेश सभाको बैठक आगामी भदौ १० गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । सभामुखले बैठकको समय निर्धारण गरेपछि प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले नियमावली अनुसार सूचना जारी गर्दै सो दिन मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायतका संसदीय कार्यसूची तय भएको जानकारी दिएका हुन् ।

संघीयता कार्यान्वयनमा आएपछि गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीसँग यस प्रकारको प्रत्यक्ष प्रश्नोत्तर हुन लागेको यो दोस्रो पटक हो । यसअघि २०८० साल भदौ ३ गते पहिलोपटक मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गरिएको थियो भने मुख्यमन्त्री पाण्डेभन्दा अघिल्लो कार्यकालमा यस्तो अभ्यास भएको थिएन । प्रदेश सरकारका कामकारबाही, विकास निर्माण तथा जनताका समसामयिक समस्याबारे सांसदहरूले उठाएका विषयमा मुख्यमन्त्रीले सदनमै उभिएर प्रत्यक्ष जवाफ दिनेछन् ।

‘गण्डकी प्रदेश सभा नियमावली, २०८०’ को परिच्छेद ९, नियम ५६ मा सरकारलाई संसद्‌प्रति उत्तरदायी र पारदर्शी बनाउन प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ । नियमावली अनुसार अधिवेशन चालु रहेको बखत महिनाको एकपटक मुख्यमन्त्री र मन्त्रीहरूसँग प्रश्नोत्तरको कार्यसूची राख्नुपर्ने प्रावधान छ । यसका लागि सांसदहरूले प्रदेशको नीति, योजना, सुशासन र विकाससँग सम्बन्धित प्रश्नहरू निश्चित समयअगावै सचिवालयमा लिखित रूपमा दर्ता गराउनुपर्ने हुन्छ । साथै, मुख्यमन्त्रीको जवाफपछि विषय स्पष्ट पार्न सांसदलाई नियमानुसार पूरक प्रश्न सोध्ने अधिकारसमेत रहने व्यवस्था छ ।

ranechhap