लण्डन । ब्रिटिश प्रधानमन्त्री कीर स्टार्मरले १० डाउनिङ स्ट्रिटबाहिर एक विशेष सम्बोधन गर्दै आफ्नो पदबाट राजीनामा दिएका छन् । पद त्याग गर्ने घोषणा गर्दै उनले आफ्नो कार्यकालका हरेक निर्णय ‘आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर’ गरेको बताए ।
आफ्नो बिदाइ सम्बोधनमा स्टार्मर निकै भावुक सुनिएका थिए । उनले आफ्नी पत्नी भिक्टोरियालाई आफ्नो ‘रक’ (बलियो खम्बा) भन्दै धन्यवाद दिए । साथै, आफ्ना सन्तानहरू आफ्नो गर्व र खुसीको स्रोत भएको बताउँदै अबका दिनहरूमा उनीहरूको लागि एउटा उत्कृष्ट बुवा बन्ने इच्छा उनले व्यक्त गरे।
स्टार्मरको राजीनामासँगै एन्डी बर्नह्याम नयाँ प्रधानमन्त्रीको मुख्य दाबेदारका रूपमा अगाडि आएका छन् । गत हप्ता भएको उप-चुनावमा मेकरफिल्डबाट विजयी भएका बर्नह्याम आजै सांसदको रूपमा शपथ लिन वेस्टमिन्स्टर पुग्दैछन् ।
लेबर पार्टीभित्र धेरैले यो नेतृत्व परिवर्तनलाई ‘कोरोनेसन’ (निर्विरोध चयन) को रूपमा हेरेका छन् । यसको अर्थ बर्नह्यामको विरुद्धमा अरू कोही उम्मेदवार नहुने र उनी निर्विरोध रूपमा स्टाररको उत्तराधिकारी बन्ने सम्भावना छ ।
यदि प्रक्रिया सोचे अनुसार अगाडि बढेमा आगामी सेप्टेम्बरको अन्त्यतिर हुने लेबर पार्टीको सम्मेलनसम्म बर्नह्यामले नयाँ प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हाल्न सक्नेछन् । यद्यपि, उनका कतिपय समर्थकहरूले भने यो समयतालिका निकै ढिलो भएको भन्दै छिटो नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरिरहेका छन् ।








































