काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह एमा शीर्ष स्थानमा एकल नियन्त्रण कायम गर्ने लक्ष्यसहित मेक्सिको र दक्षिण कोरिया शुक्रबार बिहान ग्वाडालाहारा रङ्गशालामा आमनेसामने हुँदैछन् । यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ६: ४५ बजेदेखि शुरु हुदैछ ।
सह-आयोजक मेक्सिकोले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गर्दै सुखद सुरुआत गरेको थियो । मेक्सिकोका कप्तान तथा मुख्य रक्षक सेजार मोन्टेस दोस्रो हाफको इन्जुरी समयमा रातो कार्ड खाँदै बाहिरिएपछि उनी दक्षिण कोरियाविरुद्धको खेल गुमाउनेछन् । आक्रमणमा भने अनुभवी राउल हिमेनेजबाट फेरि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। ३५ वर्षीय उनले दक्षिण कोरियाविरुद्ध पछिल्ला दुई भेटमा लगातार गोल गरेका छन्। यद्यपि, ती दुवै खेल मैत्रीपूर्ण थिए।
हिमेनेज र किन्योनेसले यस खेलमा गोल गरे विश्वकपमा आफ्नो पहिलो दुई सुरुआती खेलमा लगातार गोल गर्ने पहिलो मेक्सिकन खेलाडी बन्ने अवसर पाउनेछन्। मेक्सिकोले पछिल्ला दुई विश्वकप खेल जितिसकेको छ। यदि दक्षिण कोरियालाई पराजित गर्न सफल भयो भने टोलीले पहिलो पटक लगातार तीन विश्वकप खेल जित्ने इतिहास रच्नेछ।
तर ग्वाडालाहारा रङ्गशालामा मेक्सिकोको विगतको प्रदर्शन भने मिश्रित छ। यसअघि खेलेका तीन खेलमध्ये उसले अमेरिकालाई २-० ले हराएको थियो भने इक्वेडरसँग एक खेलमा २-१ ले पराजित र अर्को खेल १-१ को बराबरीमा टुंगिएको थियो।
त्यस्तै दक्षिण कोरिया पनि आत्मविश्वासका साथ मैदान उत्रनेछ । उसले आफ्नो पहिलो खेलमा चेकियालाई २-१ ले पराजित गरेको थियो । लाडिस्लाभ क्रेइचीले चेकियालाई अग्रता दिलाए पनि ह्वाङ इन बोम र ओ ह्योन ग्युले गोल गर्दै खेल दक्षिण कोरियाको पक्षमा पारेका थिए । ह्वाङ इन बोमले एक गोल र एक सहयोगी पास दर्ता गर्दै विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने दक्षिण कोरियाका तेस्रो खेलाडी बनेका छन् ।
दक्षिण कोरियाले इतिहासमा पहिलो पटक विश्वकपका सुरुआती दुई खेल जित्ने लक्ष्य राखेको छ । टोलीले सन् २००२ पछि लगातार दुई विश्वकप खेल जित्न सकेको छैन । त्यसबेला उसले पोर्चुगल र इटालीलाई पराजित गर्दै प्रतियोगितामा चौथो स्थान हासिल गरेको थियो ।
मेक्सिकोका प्रशिक्षक जाभियर अग्विरेले दक्षिण कोरियाका कप्तान सोन ह्युङ-मिनमाथि विशेष निगरानी राख्नुपर्नेछ । सोनले मेक्सिकोविरुद्ध पछिल्ला तीन खेलमध्ये दुईमा गोल गरेका छन्, जसमा सन् २०१८ को विश्वकप पनि समावेश छ ।
यद्यपि, दक्षिण कोरियाको पहिलो खेलमा सोनले छ पटक प्रहार गरे पनि गोल गर्न सकेनन् । उनी आफ्नो राष्ट्रिय टोलीका लागि ५६ गोल गरिसकेका छन् र सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्न अझै दुई गोल आवश्यक छ ।
मोन्टेस निलम्बनमा रहेकाले मेक्सिकोको मध्यपङ्क्तिका खेलाडी एड्सन आल्भारेजले दक्षिण कोरियाको आक्रमणलाई रोक्ने महत्वपूर्ण जिम्मेवारी पाउने सम्भावना छ ।
त्यसैगरी विश्वकप इतिहास मेक्सिकोको पक्षमा छ । उसले दक्षिण कोरियाविरुद्ध खेलेका दुवै विश्वकप भेट जितेको छ । सन् १९९८ मा ३-१ र सन् २०१८ मा २-१ को जित निकालेको थियो । दक्षिण कोरियाले अहिलेसम्म विश्वकपमा आयोजक राष्ट्रसँग खेल खेलेको छैन । साथै, उत्तर तथा मध्य अमेरिकी क्षेत्रका टोलीविरुद्ध खेलेका तीन खेलमध्ये एक बराबरी र दुई हार बेहोरेको छ । यता मेक्सिकोले एसियाली टोलीविरुद्ध खेलेका सबै पाँच विश्वकप खेल जितेको छ र पछिल्ला चार जितमा कम्तीमा दुई गोल गरेको छ ।








































