वि.सं.२०८३ साउन २१ बिहीवार

युद्धमा मारिएका सैनिकको क्षतिपूर्तिका लागि ‘कालो विधवा’को जालो, रुसमा बढ्दो ठगीप्रति चिन्ता

khanepani

एजेन्सी । युक्रेन युद्धमा घाइते भई मृत्यु भएका ५९ वर्षीय रुसी नागरिक युरीको निधनको खबर उनकी छोरी मारियाका लागि दोहोरो झट्का बन्यो।

उनलाई आफ्ना बुबा सेनामा भर्ती भएको समेत थाहा थिएन। अझ युद्धमा पठाइनुअघि बुबाले आफूभन्दा २२ वर्ष कान्छी महिलासँग विवाह गरेको जानकारी पाएपछि उनी थप स्तब्ध भइन्।

सेन्ट पिटर्सबर्गस्थित आफ्नो अपार्टमेन्टमा रुँदै मारियाले भनिन्, ‘अहिलेसम्म पनि यो घटना स्वीकार्न सकेकी छैन। सुरुमा त सपना जस्तो लाग्यो। अहिले पनि कहिलेकाहीँ बिउँझिँदा यो सबै सपना हो कि जस्तो लाग्छ। तर यो वास्तविकता हो।’

मारियाका अनुसार उनले ती महिलालाई कहिल्यै भेटेकी वा बुबाबाट उनको बारेमा सुनेकी समेत थिइनन्। तर कानुनी रूपमा ती महिला युरीकी ‘निकटतम हकदार’ बनेपछि सैनिकको मृत्युबापत सरकारले दिने क्षतिपूर्ति पाउने अधिकार उनैलाई प्राप्त भयो।

‘मैले ती महिलासँग कहिल्यै कुरा गरेकी छैन। सुरुदेखि नै यो ठगी हो भन्ने शंका लागेको थियो’, मारियाले भनिन्।

रुसमा युद्धमा मारिएका सैनिकका निकटतम आफन्तले कम्तीमा ५० लाख रुबल (करिब ६४ हजार अमेरिकी डलर) बराबरको एकमुष्ट क्षतिपूर्ति पाउने व्यवस्था छ। सैनिक भर्तीलाई प्रोत्साहन दिन ल्याइएको यो सुविधा अहिले ठगीको माध्यम बन्दै गएको भन्दै चिन्ता बढेको छ।

‘कालो विधवा’को ठगी

रुसी अधिकारी र सरकारी सञ्चारमाध्यमहरूले यस्ता ठगी गर्ने महिलालाई ‘ब्ल्याक विडो’ (कालो विधवा) भन्ने गरेका छन्।

उनीहरूले कमजोर अवस्थामा रहेका पुरुषलाई विवाहका लागि फसाउने, युद्धमा पठाउने र मृत्यु भएपछि क्षतिपूर्ति रकम आफूले लिने गरेको आरोप छ।

पछिल्ला महिनाहरूमा युद्धमा जानु अघि सैनिकसँग विवाह गर्ने वा घाइते सैनिकसँग अस्पतालमै अन्तिम अवस्थामा विवाह गरेर क्षतिपूर्ति लिएको आरोप लागेका धेरै घटना सार्वजनिक भएका छन्।

गत वर्ष चर्चित बनेको एक घटनामा सैनिक अस्पतालकी एक नर्समाथि उपचारका क्रममा रहेका पाँच सैनिकसँग विवाह गरी उनीहरूको मृत्यु भएपछि क्षतिपूर्ति लिन खोजेको आरोप लागेको थियो। त्यसपछि उनलाई जागिरबाट निकालिएको थियो।

युद्धको मूल्य र सामाजिक चिन्ता

रुसमा अर्थतन्त्रमा आएको दबाब, इन्धन अभाव, युद्धमा बढ्दो मानवीय क्षति तथा रुसी भूमिमै भइरहेका युक्रेनी आक्रमणका कारण समाजमा असन्तुष्टि बढ्दै गएको छ। यस्तो अवस्थामा ‘कालो विधवा’को ठगीप्रति जनआक्रोश पनि चर्किँदै गएको छ।

रुसी सांसद लियोनिद स्लुत्स्कीले युद्धमा सहभागी सैनिकका परिवारलाई यस्ता अपराधीबाट जोगाउन कडा कारबाही आवश्यक रहेको बताएका छन्।

उनले भने, ‘विशेष सैन्य अभियानमा सहभागी सैनिकका परिवारलाई तथाकथित ‘कालो विधवा’, आर्थिक ठगी र अन्य अपराधीबाट संरक्षण गर्नुपर्छ। यस्ता अपराध गम्भीर स्तरमा पुगिसकेका छन्।’

विवाहलाई प्रोत्साहन, त्यसकै दुरुपयोग

सन् २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेपछि क्रेमलिनले नयाँ सैनिकलाई विवाह गर्न प्रोत्साहित गरेको थियो। यसले परिवारको समर्थन बढ्ने र सैनिकको मनोबल उच्च रहने विश्वास गरिएको थियो।

यसका लागि सरकारले सामान्यतया आवश्यक पर्ने प्रतीक्षा अवधि हटाएर सैनिकलाई छिटो विवाह गर्न सहज बनाएको थियो। सरकारी टेलिभिजनले सामूहिक विवाह समारोहसमेत प्रसारण गरेका थिए।

तर यही व्यवस्थाको फाइदा उठाउँदै केही व्यक्तिले युद्धमा जान लागेका सैनिकसँग विवाह गरेर क्षतिपूर्ति रकम हात पार्ने माध्यम बनाएको आरोप लागिरहेको छ।

मारियाले आफ्ना बुबाको पुरानो अपार्टमेन्ट पनि देखाइन्, जुन अहिले बिक्री भइसकेको छ। उनलाई आफ्ना बुबालाई घर बेच्नसमेत ठगी गरिएको विश्वास छ। नयाँ घरधनीहरूले भने आफूहरूले कानुनी रूपमा घर किनेको र विक्रेतासँग प्रत्यक्ष भेट नभएको बताएका छन्।

मारियाले भावुक हुँदै भनिन्, ‘अब उहाँको सम्झनामा केही पनि बाँकी छैन। अपार्टमेन्टको पुरानो चाबी मात्र छ, त्यो पनि अब काम गर्दैन। यही सोच्दा निकै पीडा हुन्छ।’

ranechhap