वि.सं.२०८३ असार २३ मंगलवार

कर हेरफेरको आरोपमा अर्थमन्त्री वाग्लेको जवाफ- बढी इमानदार हुँदा दुःख व्यहोरेँ

khanepani

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले सामान्य प्राविधिक त्रुटि भएकाले बजेटमा कर हेरफेर भएको बताएका छन्। राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै बजेट पुस्तिका सांसदहरूको हातमा पुग्नुअघि नै देखिएका त्रुटिहरू सच्याएको उनको भनाइ छ।

उनले भने, ‘केही सामान्य त्रुटिहरू हामीले तय गरेको नीति, आशय भन्दा फरक भयो भने इमानदारीपूर्वक हामीले त्यसलाई सच्याउने हो। माननीयज्यूहरूको हातमा त्यो पुस्तिका पर्नु भन्दा अगाडि नै हेरफेर गरेर छाप्न पठाएको छु। मिस्टेक थाहा भयो, अब होइन ठिकै छ, ३÷४ दिन चुप लागौँ कसले पो हेर्छ र यत्रो मोटो ठेली, संशोधनको क्रममा सच्याउँला भनेर त्यो अल्छी पारा अपनाएको भए पनि हुन्थ्यो। बढी इमानदार भएर कहिलेकाहीँ दुःख पाइँदो रहेछ भन्ने कुरा यसपटक मैले व्यहोरेँ।’

बजेटमा समावेश गरिएको आशय र कानुनी भाषाबीच फरक देखिएपछि कर्मचारीहरूको सुझावका आधारमा पुस्तिका वितरणअघि नै संशोधन गरिएको उनको भनाइ थियो।

अघिल्ला वर्षहरूमा पनि संसद्लाई जानकारी नदिई दर्जनौँ भन्सार संशोधन भएका जिकिर गर्दै आफूले भने संसद्का महासचिवलाई औपचारिक पत्र लेखेर त्रुटि सच्याएको बताए।

उनले आफूमाथि लगाइएको आरोप आधारहीन भएको दाबी गरे।

उनले थपे, ‘यसलाई नैतिकतासँग जोड्ने हो भने मैले चुनौती नै दिएको छु। दुई रुपैयाँको बदमासी देखाउनुस् म सब राजनीतिक छोडिदिन्छु। खै कसैले प्रमाण पनि ल्याउनुभएको छैन। यत्तिकै नैतिक उचाइ र आँट सबैलाई उपलब्ध होस् भनेर शुभकामना पनि दिएको छु।’

ranechhap