वि.सं.२०८३ जेठ ३१ आइतवार

बर्दियामा सवारी दुर्घटनामा सशस्त्रका सहायक हवल्दारको मृत्यु, दुई जना घाइते

khanepani

बर्दिया । बर्दिया जिल्लाको गुलरिया नगरपालिका–११ लालपुरमा सवारी दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ भने एक जना सशस्त्र प्रहरी जवान र ट्रक चालक घाइते भएका छन्।

मृत्यु हुनेमा बर्दिया बासगढी नगरपालिका–५ मोतिपुरका करिब ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेल रहेका छन् । उनी फर्वार्ड अपरेटिङ बेस गणेशपुरमा कार्यरत थिए। दुर्घटनापछि उपचारका क्रममा उनको मृत्यु भएको हो ।

प्राप्त जानकारी अनुसार अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा सो दुर्घटना भएको हो । हुलाकी सडक खण्डको लालपुर क्षेत्रमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले प्रहरी टोलीलाई ठक्कर दिएको बताइएको छ ।

दुर्घटनामा बर्दिया बासगढी नगरपालिका–८ ककौराका करिब ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार झा घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको छ र प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित मेडिकल कलेज कोहलपुर, बाँकेमा रिफर गरिएको छ ।

यस्तै ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरी निवासी करिब ४० वर्षीय निरञ्जन दर्जी पनि घाइते भएका छन् । उनको उपचार जिल्ला अस्पताल गुलरियामा भइरहेको प्रहरीले जनाएको छ

ranechhap