वि.सं.२०८३ जेठ ७ बिहीवार

सर्वोच्च अदालतको पूर्ण बैठकद्वारा पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त

khanepani

काठमाडौँ । सर्वोच्च अदालतको आज आकस्मिक रूपमा बसेको पूर्ण बैठकले पूर्वन्यायाधीश हरगोविन्दसिंह प्रधानको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनको योगदानको स्मरण गरेको छ ।

प्रधानन्यायाधीशसहित न्यायाधीशहरूको सहभागितामा बसेको बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेको थियो ।

साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेद्वारा जारी विज्ञप्ति अनुसार ९५ वर्षको उमेरमा यही जेठ ६ गते निधन हुनुभएका पूर्वन्यायाधीश प्रधानले न्याय तथा कानुन क्षेत्रमा पुर्‍याएको योगदानको उच्च सम्मानका साथ स्मरण गरिएको छ ।

विज्ञप्तिमा स्वर्गीय प्रधानलाई देवानी तथा फौजदारी कानुनका क्षेत्रमा विशेष दख्खल राख्ने, लगनशील, मिलनसार, सहृदयी, मृदुभाषी एवं अनुभवी न्यायिक व्यक्तित्वका रूपमा उल्लेख गरिएको छ ।

‘नेपालको न्यायिक र कानुनी इतिहासमा निष्पक्षता, बौद्धिकता र निष्ठाका पर्यायका रूपमा परिचित उहाँको निधनबाट न्याय र कानुन क्षेत्रमा अपूरणीय क्षति पुगेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँको निधनबाट राष्ट्रले एक सच्चा राष्ट्रप्रेमी तथा न्यायिक व्यक्तित्व गुमाएको छ ।’

स्वर्गीय प्रधान विसं २०३२ भदौ २३ गते मध्यमाञ्चल क्षेत्रीय अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्त भएका थिए । त्यसपछि उनी विसं २०४८ भदौ १४ गते सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका थिए । उनले २०५१ साल पुस ५ गतेसम्म सर्वोच्च अदालतमा कार्यभार सम्हालेका थिए ।

ranechhap