काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् । ट्राफिक प्रहरीलाई सवारी साधनको बिचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ ।
आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताए । उनले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर फुटपाथ व्यवस्थापन, पार्किङ व्यवस्थापन तथा आपत्कालीन उद्धार प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्कीले राजधानीको बढ्दो जनसङ्ख्या, सहरीकरण र सवारी चापसँगै सार्वजनिक स्थानको व्यवस्थापन, फोहोर मैला, वातावरणीय चुनौती, सम्पदा संरक्षण र विपद् व्यवस्थापनमा पनि स्थानीय तह र नेपाल प्रहरीबिच सहकार्य आवश्यक रहेको बताए ।
उनले फोहोर मैला व्यवस्थापनमा उत्पादनस्थल देखि अन्तिम व्यवस्थापन स्थलसम्मै चुनौती रहेकाले भविष्यमा यसको प्रभावकारी उपाय खोज्नुपर्ने बताए । नेपाल प्रहरी र स्थानीय तहबिच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै कार्कीले ७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग समन्वय गर्न पत्राचार भइरहेको बताए ।
स्थानीय तहले आवश्यकता अनुसार नेपाल प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने, सवारीसाधन र विपद् उद्धार सामग्री उपलब्ध गराउने तथा सीसीटीभी जडान र विस्तारमा सहयोग गर्नुपर्ने उनले बताए ।
यस्ता सहकार्यले प्रहरी सेवा र महानगर प्रहरी सेवालाई थप प्रभावकारी रूपमा जोड्ने उनको भनाइ छ । कार्कीले नागरिकलाई सफा सडकमा हिँड्न पाउने र फुटपाथ अवरोधमुक्त रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न महानगरले गरिरहेको कामको प्रशंसा गरे । राजधानीको सहरी व्यवस्थापनमा महानगरपालिकाको कार्यसम्पादनले समग्र सहरी व्यवस्थापनको स्तरसमेत झल्काउने बताए ।
उनले भने, ‘७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत नेपाल प्रहरीसँग भौतिक संरचना निर्माणलगायतका विषयमा सहयोग र समन्वय गर्न पत्राचार भइरहेको छ । यसै सन्दर्भमा हामीले पनि सुरक्षा संरचनालाई प्राथमिकता दिँदै सुरक्षाकर्मीको आवास, यातायात तथा आवश्यक स्रोत–साधनको व्यवस्थापनमा थप ध्यान दिन आवश्यक छ ।’
आगामी दिनमा महानगर र नेपाल प्रहरीले थप योजनाका साथ संयुक्त रूपमा काम गर्नुपर्नेमा जोड दिँदै कार्कीले ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन र आपत्कालीन प्रतिकार्य प्रणालीलाई प्रविधिमैत्री तथा व्यवस्थित बनाउन सहकार्यलाई निरन्तरता दिने अपेक्षा व्यक्त गरे ।







































