एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वमा अब शक्तिका बलमा मनोमानी लाद्ने परम्परा चल्न नहुने बताएका छन् । भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स देशहरूको १८ औं शिखर सम्मेलनका क्रममा राष्ट्रपति सीले यस्तो बताएका हुन् ।
सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले ‘बल नै सही’ भन्ने सोचलाई विश्वका देशहरूले धेरै पहिले नै त्यागिसक्नुपर्ने बताए । उनले विश्वका सबै देश ठूला वा साना, धनी वा गरिब सम्मानका हकदार रहेको बताए ।
‘विकासशील देशहरूले बहुपक्षीयता र संयुक्त राष्ट्रसंघको भूमिकालाई थप बलियो बनाउनुपर्छ । ताकि अन्तर्राष्ट्रिय मामिलामा सबै देशको समान सहभागिता सुनिश्चित गर्न सकियोस्,’ उनले भने ।
राष्ट्रपति सीले वर्तमान विश्व परिस्थिति निकै अस्थिर रहेकामा चिन्ता व्यक्त गरे । ‘यस्तो अवस्थामा ब्रिक्स देशहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै विकासशील देशहरूलाई एकजुट गर्नुपर्ने र विश्वमा शान्ति तथा स्थिरता कायम गर्न सकारात्मक शक्तिका रूपमा काम गर्नुपर्छ,’ उनले भने ।
यस्तै, सीले नियमबिनाको विश्व ‘अराजकता र अव्यवस्था’तर्फ जाने जोखिम रहने भन्दै अन्तर्राष्ट्रिय नियम सबै देशको सहभागितामा निर्माण हुनुपर्ने बताए ।
‘नियमबिनाको विश्व ट्राफिक बत्ती नभएको चोकजस्तै हो, जहाँ अराजकता र अव्यवस्था लगभग निश्चित हुन्छ,’ उनले भने, ‘निष्पक्षता र न्याय विश्वव्यापी आकांक्षा हो र अन्तर्राष्ट्रिय नियम सबै देशले मिलेर बनाउनुपर्छ ।’
ग्लोबल साउथका देशहरूले अन्तर्राष्ट्रिय मामिलामा कानुनी शासनको संयुक्त रूपमा रक्षा गर्नुपर्नेमा चिनियाँ राष्ट्रपतिले जोड दिए । ‘सार्वभौम समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विवादको शान्तिपूर्ण समाधानजस्ता अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताको संरक्षण गर्नुपर्छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय कानुन र नियम सबै देशमा समान रूपमा लागु हुने सुनिश्चित गर्नुपर्ने र दोहोरो मापदण्डबाट मुक्त राख्नुपर्ने उनले बताए ।
अन्तर्राष्ट्रिय नियम र समानतामा जोड दिँदै सीले न्याय र निष्पक्षता हरेक देशको चाहना भएकाले विश्वका नियम कुनै एक शक्तिशाली देशले नभई सबै देशले मिलेर तय गर्नुपर्ने उनले बताए ।







































