काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कुटनीतिक वैदेशिक रोजगारीका लागि मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती र सास्ती अन्त्य गर्न कूटनीतिक नियोगहरूलाई निर्देशन दिएको छ ।
मागपत्र प्रमाणीकरण गर्दा समय लाग्ने र अपुग कागजातको जानकारी एकै पटक नदिँदा रोजगारदाताले सास्ती पाएको गुनासो आएको भन्दै मन्त्रीस्तरीय निर्णय गरी परराष्ट्र मन्त्रालयमार्फत व्यवस्थित र पारदर्शी बनाउन भनिएको हो ।
अब गन्तव्य मुलुकका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि सम्बन्धित नेपाली कूटनीतिक नियोगमा आवेदन दिँदा नियोगले आवेदनको अध्ययन गरी आवश्यक पर्ने थप कागजातहरुको एकमुष्ट जानकारी रोजगारदातालाई गराउनुपर्नेछ ।
पटक-पटक कागजात माग्ने परिपाटीले वैदेशिक रोजगारीको प्रक्रिया जटिल बनेकाले नियोगहरूले पहिलो पटकमै सबै अपुग कागजातको विवरण उपलब्ध गराउनुपर्ने नियम बनाइएको छ ।
मागपत्र प्रमाणीकरणको कामलाई तोकिएको समय सीमा भित्रै फछ्र्यौट गर्न समेत नियोगहरूलाई ताकेता गरिएको छ ।








































