काठमाडौँ । इन्डोनेसियाको जाभा सागरमा खराब मौसमका कारण सम्पर्कविहीन भएको यात्रुवाहक फेरी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ९७ जनाको उद्धार गरिएको छ ।
इन्डोनेसियाको उद्धार तथा खोजी निकायका अनुसार २४३ जना सवार ‘भिर्गो ट्रान्सपोर्ट ८’ फेरी सुराबायाबाट बन्जारमासिनतर्फ जाँदै गर्दा आइतबार बिहान सम्पर्कविहीन भएको थियो ।
बाँकी यात्रुको खोजी जारी रहेको र उद्धारका लागि नौसेना, समुद्री प्रहरी तथा अन्य निकायको संयुक्त टोली परिचालन गरिएको बताइएको छ । घटनास्थलमा विभिन्न जहाज र हेलिकोप्टर पठाइएको छ भने जाभा सागरमा रहेका अन्य जहाजलाई समेत यात्रु फेला परे जानकारी दिन आग्रह गरिएको छ । उद्धार निकायले जहाजको अन्तिम अवस्थिति एउटा घाटबाट करिब १४८ किलोमिटर टाढा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ ।
करिब १७ हजार द्वीप रहेको इन्डोनेसियामा एक द्वीपबाट अर्को द्वीपमा आवतजावतका लागि पानीजहाजमा ठूलो निर्भरता छ । तर सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा त्यहाँ पानीजहाज दुर्घटनाको जोखिम उच्च रहने गरेको छ ।







































