विराटनगर । इटहरी अस्पतालको औषधि ठेक्का अनियमितताको विषयले संघीय संसदमा प्रवेश पाएको छ ।
रास्वपा सांसद अशोक चौधरीले आजको बैठकमा इटहरी अस्पतालको औषधि आपूर्ति ठेक्काको विषय उठाएका छन् । केही दिन अघि अस्पतालमा औषधि ठेक्कामा अनियमितता भएको समाचार सार्वजनिक भएको थियो ।
औषधि ठेक्का पाएको कम्पनीले इटहरीका मेयर हेमकर्ण पौडेल र उनका सचिवालयका सदस्यलाई पटक-पटक बैंकमार्फत रकम हालेको मिडियामा आएपछि छानबिनको माग उठेको छ ।
सांसद चौधरीले मेडिकल व्यवसायिबाट मेयर र उनी निकट व्यक्ति तथा सहयोगीहरूको खातामा करोडौँ रकम गएको विषयमा छानबिन गरिनुपर्ने माग गरेका छन् ।
उनले भने, ‘नगरबासीको स्वास्थ्य सेवा र सार्वजनिक बजेटसँग जोडिएको छ । यसलाई सामान्य रूपमा लिन मिल्दैन ।’
इटहरी अस्पतालको औषधि खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन र सम्बन्धित आर्थिक कारोबारको तत्काल छानबिन गरी सत्य तथ्य सार्वजनिक सरकारको ध्यानाकर्षण गराए । उपमहानगरले औषधि आपूर्तिका लागि २०८० सालमा सर्विका मेडिको प्रालिलाई ठेक्का लगाएको थियो । ठेक्का पाएपछि सो कम्पनी सो कम्पनीले अर्बी फार्मेसीलाई सेयर बिक्री गरेको छ । इटहरी अस्पतालमा औषधि आपूर्तिका लागि अर्बीले पनि टेन्डर हालेको थियो ।
बोल कबोलमा महँगो भएपछि अर्बीले ठेक्का पाएन । पछि कम्पनी किनेर औषधि आपूर्ति भने अर्बीले गर्दै आएको छ । सोही कम्पनीले मेयर र उनका सचिवालयमा खातामा पैसा पठाएको दाबी छ ।









































