हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना कारबाहीमा परेका सांसद उद्धव थापालाई पदमुक्त नगरेसम्म बागमती प्रदेश सभाको बैठक चल्न नदिने अडान लिएको छ । हेटौँडास्थित संसद सचिवालयमा आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले यस्तो चेतावनी दिएकी हुन्।
बैठकमा बोल्दै तामाङले भनिन्, ‘मुख्यमन्त्रीको नियुक्ति संविधानसम्मत छैन । संविधान विपरीतको कार्य स्वीकार्य छैन। उद्धव थापालाई सांसदबाट निलम्बन नगरेसम्म बैठक चल्न दिँदैनौँ।’ प्रमुख सचेतक तामाङले थापालाई गरिएको कारबाहीका सम्पूर्ण आधिकारिक दस्ताबेजहरू कार्य व्यवस्था परामर्श समितिमा पेस गरिन् । सभामुखले तत्काल तोक लगाएर कारबाही प्रक्रिया अगाडि नबढाएसम्म संसद सहज रूपमा चल्न नसक्ने राप्रपाको जिकिर छ ।
यसअघि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीको निर्देशन उल्लङ्घन गरेको भन्दै उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टीको साधारण सदस्यता समेत खारेज गरिएको छ।
बागमती प्रदेश सरकार गठनका क्रममा पार्टीको आधिकारिक निर्णय र निर्देशन विपरीत नेकपा एमालेलाई समर्थन गरेको र स्पष्टीकरण सोध्दा समेत कुनै जवाफ नदिएपछि उनलाई कारबाही गरिएको राप्रपाले जनाएको छ।
यद्यपि, थापामाथि गरिएको यो कारबाहीको निर्णयमा राप्रपाभित्रै मतभेद देखिएको छ। स्रोतका अनुसार नेता कमल थापाले यस निर्णयमा असहमति जनाउँदै नोट अफ डिसेन्ट’ लेखेका छन् । उनी थापालाई कारबाही गर्न नहुने पक्षमा उभिएका छन् । यसैबिच राप्रपाले केन्द्रले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिन ह्वीप लगाएको छ । प्रदेशका राप्रपाका सांसदहरु भने विभाजित छन् ।






































