विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश नेकपा संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता राजेन्द्र राईले जानकारी दिए ।
यसअघि एमालेले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विश्वासको मतमा तटस्थ बस्ने भएको छ । काङ्ग्रेसले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बिच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । त्यसअगाडि नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ । गएको साउन ९ गते भएको एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।
संविधानको धारा १६८ ९५० अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने ५ जना भने तटस्थ बसेका छन् । उनलाई एमालेका उपसभामुख सहित ४०, तत्कालीन माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।
एमाले र तत्कालीन माओवादीबिचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते विश्वासको मत लिएका थिए । त्यसबेला कार्कीले राखेको विश्वासको मतको पक्षमा ६६, विपक्षमा १५ मत परेको थियो । मतदानमा ८३ सांसदले भाग लिएका थिए ।
कोशी प्रदेशसभामा ९२ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी० मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।





































