विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले सोमबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। प्रदेशसभा सचिवालयमा सोमबार बिहान बसेको दलको बैठकले यो निर्णय गरेको सचेतक रमेशकुमार बस्नेतले जानकारी दिएका छन्। मुख्यमन्त्री कार्कीले आज प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत लिँदैछन्।
एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीबीच साउन ९ गते भएको सहमतिअनुसार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भइसकेको छ भने यसअघि सरकारमा रहेको नेपाली कांग्रेसले भदौ ३ गते नै समर्थन फिर्ता लिइसकेको छ।
यसअघि २०८१ वैशाख २७ मा मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले वैशाख ३१ गते पहिलो पटक ५७ सांसदको समर्थनमा र पछि कांग्रेससँगको गठबन्धनपछि २०८१ असोज २ गते ६६ मतसहित दोस्रो पटक विश्वासको मत प्राप्त गरेका थिए। हाल ९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित ५ र जसपाका १ जना सांसद रहेका छन्।








































