वि.सं.२०८३ जेठ २६ मंगलवार

प्रतिपक्षको संशोधन स्वीकार गर्दा सरकारको दस्तावेज बिटुलो हुन्छ भन्ने भाष्य तोड्नुपर्छः सांसद आचार्य

khanepani

काठमाडौं । रास्वपाका सांसद विपिन आचार्यले प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षबीचको अत्यधिक दलगत मानसिकताले संसदीय अभ्यास कमजोर बनाएको बताएका छन्।

प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उनले सरकारले ल्याउने नीति तथा कार्यक्रम राम्रो भए पनि प्रतिपक्षले त्यसलाई स्वतः अस्वीकार गर्ने प्रवृत्ति रहेको बताए। उनले राम्रोलाई राम्रो भन्न नसक्ने यो कस्तो प्रतिपक्षी धर्म हो ? भन्दै प्रश्न गरे।

उनले भने, ‘सत्ता पक्षको अवस्था पनि उदेकलाग्दो छ। प्रतिपक्षले जतिसुकै रचनात्मक र आवश्यक संशोधन किन नराखोस्, त्यसको गुण र दोष माथि सार्थक छलफल नगरी ती हुबहु अस्वीकृत हुन्छन्। प्रतिपक्षको संशोधन स्वीकार गर्दा सरकारको दस्तावेज बिटुलो हुन्छ भन्ने जुन एउटा अघोषित र गलत भाष्य यहाँ स्थापित छ, अब त्यसलाई तोड्नुपर्छ।’

प्रतिपक्षबाट आएका रचनात्मक संशोधनहरूलाई गुण र दोषका आधारमा छलफल नगरी अस्वीकार गर्ने परिपाटी अन्त्य हुनुपर्ने बताए। प्रतिपक्षको संशोधन स्वीकार गर्दा सरकारको दस्तावेज कमजोर हुन्छ भन्ने गलत भाष्य स्थापित भएको उनको भनाइ थियो।

सरकार निर्माण, विश्वासको मत, बजेट र अध्यादेशजस्ता विषयमा दलको ह्विप आवश्यक भए पनि कानुन निर्माण र जनजीविकाका सवालमा सत्ता–प्रतिपक्ष दुवैले दलीय चस्माभन्दा माथि उठेर निर्णय गर्न सक्ने व्यवस्था नियमावलीमा समेटिनुपर्ने बताए।

ranechhap