बुटवल । भूमिहीन तथा सुकुम्बासीहरूको राष्ट्रिय भेला बुटवलमा सोममबार सुरु भएको छ । सम्मेलनमा देशभरका २२ जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएका छन् ।
सुकुम्बासी संघर्ष समिति रुपन्देहीका सल्लाहकार विरेन्द्र विकका अनुसार बाँके, बर्दिया, कञ्चनपुर, दाङ, कैलाली, कपिलवस्तु, नवलपरासी, चितवन, झापा लगायत जिल्लाबाट प्रतिनिधिहरू बुटवलमा भेला भएका छन् ।
सम्मेलनले भावी कार्ययोजना तय गर्ने, आन्दोलनको राष्ट्रिय कार्यदिशा निर्धारण गर्ने तथा भूमिहीन र सुकुम्बासीका मुद्दालाई राष्ट्रिय स्तरमा थप संगठित बनाउने लक्ष्य राखेको छ ।
यस्तै, सम्मेलनबाट राष्ट्रिय संघर्ष समितिको नयाँ नेतृत्व समेत चयन गरिने जनाइएको छ ।
सुकुम्बासी संघर्ष समिति रुपन्देहीका संयोजक खगेन्द्र पौडेलका अनुसार देशभरका सुकुम्बासीलाई एकीकृत गर्दै बुटवलबाटै नयाँ राष्ट्रिय नेतृत्व चयन गरी आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्य रहेको छ ।








































