वि.सं.२०८३ जेठ ४ सोमवार

सरकारले निर्माण व्यवसायीमाथि अमानवीय व्यवहार गर्‍यो : महासचिव शिवहरि घिमिरे

khanepani

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेले निर्माण व्यवसायीमाथि सरकारले अमानवीय व्यवहार गरिरहेको आरोप लगाएका छन्।

खानेपानी तथा ढल व्यवस्थापन विभागलाई ज्ञापनपत्र बुझाउन पुगेका घिमिरेले सरकारी निकायले निर्माण व्यवसायीलाई काम गर्न दबाब दिँदै बैंक ग्यारेन्टी तान्ने चेतावनीसमेत दिइरहेको बताएका हुन् ।

सरकारी अधिकारीहरूले जसरी भए पनि काम गर, नगरे बैंक ग्यारेन्टी तानिन्छ भन्दै दबाब दिइरहेको र यो अमानवीय व्यवहार भएको उनको भनाइ छ।

बजारमा भएको मूल्यवृद्धि अनुसारको मूल्य समायोजन नभएसम्म निर्माण व्यवसायीले काम गर्न नसक्ने अवस्था रहेको घिमिरेले स्पष्ट पारे।

सरकारले मूल्य समायोजन, म्याद थप, बैंक ग्यारेन्टी र इन्स्योरेन्स लगायतका विषय तत्काल सम्बोधन गर्नुपर्ने उनको माग छ। सरकारसँग भएको वार्तामा मूल्य समायोजन दिने आश्वासन दिइए पनि सरकारी अधिकारीहरूबाट त्यसबारे स्पष्ट प्रतिबद्धता नआएको गुनासो उनले गरे।

आयोजना प्रमुख तथा सरकारी कर्मचारीहरूले निर्माण व्यवसायीलाई मूल्यवृद्धि अनुसार मूल्य समायोजन दिनुपर्छ भनेर आवाज नउठाएको समेत उनले बताए।

महासचिव घिमिरेले भने, ‘नेपाल सरकारका अधिकारीहरूमध्ये कसैले पनि स्पष्ट रूपमा मूल्य समायोजनको प्रतिबद्धता व्यक्त गरेका छैनन्। आयोजना प्रमुख लगायत सरकारी कर्मचारीहरूले पनि निर्माण व्यवसायीलाई मूल्यवृद्धिका कारण मूल्य समायोजन दिनुपर्छ भनेर आवाज उठाएको मैले देखेको छैन। बरु, उनीहरूले उल्टै काम गर्नुपर्छ, जसरी भए पनि काम गर, काम गरेनौ भने बैंक ग्यारेन्टी तानिदिन्छौँ भन्ने दबाब दिइरहेका छन्। तिमीहरूको मेसिनमा रगत हालेर भए पनि काम गर भन्ने शैलीमा अत्यन्त क्रुर र अमानवीय तरिकाले काम गर्न बाध्य पारिएको छ। यस्तो अवस्थामा कसैले पनि काम गर्न सक्दैन। जबसम्म मूल्यवृद्धि अनुसारको मूल्य समायोजन हुँदैन, तबसम्म काम गर्ने अवस्था छैन। निर्माण व्यवसायीप्रति गरिएको यो व्यवहार आक्रामक र अन्यायपूर्ण छ। मूल्य समायोजन पनि नदिने, अनि काम गर्न पनि दबाब दिने अवस्थामा निर्माण व्यवसायीले कसरी काम गर्न सक्छ?’

यसअघि सडक विभाग तथा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाइसकिएको घिमिरेले जानकारी दिए। माग पूरा गराउन दबाब दिने उद्देश्यले देशका ७७ वटै जिल्ला र सातै प्रदेशमा समेत निर्माण व्यवसायीहरूले निरन्तर रूपमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए।

ranechhap